काठमाडौं, १७ कात्तिक । नेकपा माओवादी केन्द्रले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई निष्क्रिय पारेपछि नेकपा एमालेका उम्मेदवार रेड्जोनमा पुगेका छन् ।
गत निर्वाचनमा नेकपा माअोवादी सहितको गठबन्धन गरेर विजयी बनेका पूर्व सांसद राई अहिले दोहोरिने आशासहित चुनावी मैदानमा छन् । गोकर्णेश्वर नगरपालिकाको प्रमुख भएर पाँच वर्ष काम गरेका सन्तोष चालिसे अहिले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा गोकर्णेश्वर नगरपालिका पूरै पर्दछ भने, काठमाडौं महानगरपालिका वडा नम्बर ६ सहित कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ वडा यस क्षेत्रमा पर्छन् । गोकर्णेश्वर, काठमाडौं वडा नम्बर ६ मा कांग्रेसले जितेको छ ।
कागेश्वरी मनोहराको २ नम्बर वडामा कांग्रेस निर्वाचित भएको छ । स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, माओवादी केन्द्रले १ हजार ७३०, एकीकृत समाजवादीले एक हजार ५६ मत पाएका छन् ।
२०७४ सालमा वाम गठबन्धनबाट एमालेका राईले १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । बस्नेत हाल समानुपातिकतर्फको उम्मेदवार बनेकी कारण पनि राइलाई झन् गारो परेको छ ।
कांग्रेसलाई गठबन्धन दल माओवादी केन्द्रले उम्मेदवारलाई निष्क्रिय पारेपछि थप शक्ति हासिल भएको छ । प्रदेशतर्फ (ख) मा गठबन्धनबाट आफ्नो उम्मेदवार नपाएपछि माओवादीले संघ र प्रदेश दुवैतर्फ उम्मेदवार उठाएको थियो ।
माओवादीबाट संघमा बद्री बजगाईं, प्रदेशतर्फ (क) मा कपिलमुनि उप्रेती, (ख) मा महेश्वर फुँयाल उम्मेदवार थिए । तर, बुधबार मात्रै माओवादी केन्द्रले बजगाईं र उप्रेतीलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । क्षेत्रमा कुल १३ वडामा मतदाताको संख्या ५८ हजार ८८९ छ । चुनावी प्रतिस्पर्धामा दल र स्वतन्त्र गरी २३ जना छन् ।


