देउवा सातौ पटक प्रधानमन्त्री भए नेपाल नै नरहला रावल

-

 

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवाको हातमा देशको नेतृत्व जाँदा हरेक मुलुक विरुद्ध निर्णय भएको बताउँदै अब सातौ पटक प्रधानमन्त्री भए नेपाल नै नरहने बताएका हुन ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे ।
‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’, उनले भने, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’

प्रधानसेनापतिको अमेरिका भ्रमण र अमेरिकी जर्नेलको नेपाल भ्रमणको औचित्यमाथि समेत रावलले प्रश्न गरे । यी विषयको जवाफ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रावलले बताए । यस्तै, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खनालले नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा विदेश मन्त्रालय नपुगि रक्षा मन्त्रालय ९पेन्टागन० पुगेर छलफल गरेको विषय समेत प्रष्ट पारिनुपर्ने रावलको भनाइ छ ।

प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य