काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्रै पाएका छन् ।
१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ । लघुवित्तको आईपीओमा आवेदन दिएका बाँकी लगानीकर्ताको हात रित्तो भएको छ ।बाँडफाँट गर्दा १० कित्ताका लागि लक्की नम्बर ८ र बाँकी रहेका ६ कित्ताका लागि लक्की नम्बर ६ आएको छ ।
बिक्री प्रबन्धकका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा २३ लाख ५१ हजार ४६२ जना आवेदकले २ करोड ६२ लाख ५७ हजार ६५० कित्ता शेयरका लागि २ अर्ब ६२ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
जसमा २ हजार ४०६ जनाको २६ हजार ७२० कित्ता विभिन्न कारणले रद्द भएको छ । बाँकी २३ लाख ४९ हजार ५६ जना आवेदकको २ करोड ६२ लाख ३० हजार ९३० कित्ता मात्रै भेरिफाई भएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले चैत २५ गते, शुक्रबारदेखि चैत्र ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।