काठमाडौं । कुसुम कार्की अर्थात् नेकपा एसका केन्द्रीय सदस्य, काठमाडौं अध्यक्ष अनि बागमती प्रदेस सभाका सदस्य । उनको अर्को परिचय पनि छ, अहिलेसम्म कुनै चुनाव हार्न परेको छैन । यस्ता अविजित कार्की अहिले नेकपा एसमा लागेका छन् । यो सानो पार्टीको काठमाडौंजस्तो ठूलो भूगोलमा जिम्मेवारी । पक्कै पनि चुनौतीपूर्ण नै छ ।
अहिले वडा, टोलमा पुगेका कार्कीलाई नेकपा एसको हैसियत यस्तो छ भन्ने राम्रै ज्ञान छ । एमालेको हैसियतसँगै जनता कांग्रेस र माओवादीसँग कति आकर्षित छन् भन्ने पनि ज्ञान भएको सुनाउँछन् । उसो त गठबन्धनमा रहेकाले मिलेर जानु पर्छ । यसरी जाँदा नेकपा एसले हार्ने कुरै भएन । नेपाली कांग्रेस पनि एमालेको मत चोर्न सक्ने एस मात्र भएकोमा विश्वस्त पनि छ ।
तर कुराले मात्रै च्युरा भिज्दैन भने झैँ कार्यकर्तालाई कसरी पार्टीमा आकर्षित गर्ने त ? कार्कीले काठमाडौंमा अभियान थालेका छन्, एक हजार रुपैयाँमा खाता खोल्ने, मासिक एक सय रुपैयाँ जम्मा पार्ने । काठमाडौँमा कोही अप्ठेरोमा पर्दा ८–१० रुपैयाँ दिन पनि नसक्ने अवस्था छ । यस्तो समस्याका बेला कार्यकर्तालाई साथ दिन नै यो अभियान चालिएको हो । स्वयम् कार्कीले पनि ५५ हजार ५ सय ५५ रुपैयाँ राख्दै भन्नु भयो, अब यो अभियानमा हामी सबै जोडिऔँ, कसैले दुःख पाउनु पर्दैन । कार्कीको मोबाइल नम्बरको पछाडिको अंक पनि ५५५५ छ । रकम अर्को एक अंक थपेर ५५५५५ जम्मा पार्दा अरुलाई एक हजार र मासिक एकसय रुपैयाँ जम्मा पार्न आग्रह गरिएको छ ।
उसो त पार्टी बनाउने अभियानसँगै नेता कार्यकर्तालाई समृद्ध र सशक्त बनाउने अर्को अभियान पनि कार्की र पार्टीको । त्यो हो, काठमाडौं जिल्लामा रहेर व्यापार, व्यवसाय, उद्यम गर्नेहरुको डायरी बन्दैछ । नेता कार्यकर्ताले आफ्नै पार्टीका नेता कार्यकर्ताको उद्यमलाई प्रवद्र्धन गर्न त्यही कम्पनीको उत्पादन खाने, नेता कार्यकर्ताकै उद्योगका उत्पादन लगाउने र व्यापार प्रवद्र्धन गर्ने । यसका लागि नेता कार्यकर्ताको व्यावसायिक तथ्यांक पार्टीले उतारिरहेको छ र छिट्टै डायरीका रुपमा आउने छ ।
कार्कीले पार्टी बनाउने सूत्र पनि सुनाएः एउटा वडालाई १० वटा टोलमा विभाजन गरेर पार्टी, जनसंगठनका सदस्यको टोली तलैसम्म पार्टी बनाउन जाने । कार्की भन्छन्, ‘८० प्रतिशत त वडा कमिटी बनाइसक्यौँ ।’
कार्कीजस्तै अन्य जिल्ला कमिटीले पनि यस्तै नमूना योजना ल्याउन सकेन नेकपा एसका नेता कार्यकर्ता समृद्ध बन्थे पक्कै । कार्कीले समाजवादी प्रेस संगठनको काठमाडौँ भेलामा शनिबार दिएको मन्तव्यको यो भिडियो पनि हेर्नुहोस्ः