काठमाडौं । १४ करोड रुपैयाँ बैंक ग्यारेन्टी तिरेपछि एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बोल्सोभरले नेपाल छाडेका छन् ।
गत शनिबार राति १० बजे अमेरिका उड्नै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बोल्सोभर पक्राउ परेका थिए । ओसीपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व नतिरी भाग्न लागेको आरोप लगाएर उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्ने थियो । तर, उक्त रकम नतिरी अटेर गरेर भाग्न लागेपछि पर्यटनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेको निर्देशनमा पक्राउ गरिएको थियो ।
पक्राउ परेका सीईओ बोल्सोभरले आज मंगलबार पर्यटन मन्त्रालयमा १४ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएपछि आफ्नो देश फिर्ता भएका हुन् । उनी मंगलबार अपराह्न ४ः४० को कतार एयरलाइन्सको फ्लाइटमा न्यूयोर्क उडेका छन् ।
बोल्सोभरलाई पक्राउ गरेर विदेशी लगानीकर्तालाई तर्साएको आरोप मन्त्री आलेमाथि लागेको छ । व्यवसायी–व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण क्यासिनो समस्याग्रस्त भएको र त्यसमा नेपाली व्यवसायीको गल्ती भएको स्रोतहरूको भनाइ छ ।
त्यसो त एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटेल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।
सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश विपरीत क्यासिनो र होटेल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका थिए ।