काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका छन्।
पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन्।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए। आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ।
ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएए। उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए
‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए ।
राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे।