श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् ।
कृषि बँधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् । उनले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा/चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दिगो रूपमा समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
श्रेष्ठले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरूको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए । उनले आवश्यकता, रुचि र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आयआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
साथै, उनले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानका लागि पहल गर्ने बताए । सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुमबासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने उनले प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्ति र पुनःस्थापनाका लागि गर्नुपर्ने काम अन्य मन्त्रालयसँग पनि सम्वन्धित रहेकाले आवश्यक समन्वय गर्ने विश्वास दिलाए ।