जेन्जी र मेरो देश !

लेखक: नारायणबाबु तिम्सिना
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र २८ शनिवार
जेन्जी र मेरो देश
कठैबरा !
ती अबला किशोरकिशोरी
पुलिस र सत्ताका नाममा
प्रतिक्रियावादीहरूले घुसपैठ गरेर
क्षतविक्षत पारेर मार्दा
गर्हुँगो मन पारेर टुलुटुलु हेर्नू सिवाय
नागरिक भएर मैले केही गर्न सकिन
मेरो प्यारो देश !
मलाई माफ गरिदेउ
नागरिक भएर मैले केहि गर्न सकिन ।।
अबोध जेन्जीलाई अगाडि सारेर
भ्रस्टाचार र सोसल मिडियाका नाममा
उत्तेजित र उद्देलित बनाएर
जेन्जीको मुखुण्डो लगाएर
देशी बिदेशी राष्ट्रघातीहरूले
षड्यन्त्र गरेर
मेरो देशको अस्मिता लुटिरहँदा
मेरो देशको अस्तित्व नै समाप्त पारिरहँदा
मेरो प्यारो देश !
मलाई माफ गरिदेउ
तथाकथित राजधानीमा बसेर पनि
निरीह भएए टुलुटुलु हेरिरहन बाहेक
नागरिक भएर पनि केही गर्न सकिन।।
मेरो देशको ऐतिहासिक पहिचान
अभिमान अनि गौरव जनाउने
पुरातात्त्विक एवम् कुटनैतिक
अभिलेख र दस्तावेजहरू
मिसिल, रेकर्ड र कागजातहरू
खरानी पारिएका बेला
राष्ट्रको अस्मिता लुटिएको बेला
मेरो प्यारो देश !
मलाई माफ गरिदेउ
म आफैँ लुटिएको बेला
आफ्नै ज्यान जोगाउन धौधौ परेको बेला
मलाई माफ गरिदेउ
नागरिक भएर केहि गर्न सकिन ।।
मेरो देश बिकेका बेला
यहाँका क्रान्तिकारी अमुक दल र
तिनको खोक्रो राष्ट्रवादी फुइँ र ह्याउ
अनि तिनका कार्यकर्ता बिकेको बेला
मेरो प्यरो देश !
मलाई माफ गरिदेउ
मेरो आफ्नै लाग्ने नेपाल प्रहरी र
सुरक्षाको सम्पूर्ण जिम्मा लिएर बसेको
अन्तिम घडीमा राष्ट्र बचाउने भनेर
मैले भरणपोषण गरेको
मेरो राष्ट्रवादी नेपाली सेना
बिकेको बेला
नागरिक भएर तिमीलाई बचाउन सकिन।

