नानीहरु

लेखक: त्रिलोचन आचार्य
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र २८ शनिवार
राम्रा राम्रा पालुवा बढ्न खोज्ने
अग्ला अग्ला टाकुरा चढ्न खोज्ने
देख्दा राम्रा शान्त चोखो मुहार
देऊँ नानीतर्फ माया हजार ।१।
निस्केको हुन् कान्ति उम्दा धराको
फैलेको हो बासना सिर्जनाको
मैले आफ्नो भोलि त्यैँ देख्नुपर्छ
तस्मात् मैले काँधमा बोक्नुपर्छ ।२।
नानी नै हुन् रात फाल्ने बिहानी
नानी नै हुन् विश्व बोक्ने जवानी
नानी नै हुन् फूल थुँगा उज्याला
तस्मात् माया राख्नु बन्दै विशाल ।३।
धर्ती नानी घामको स्नेह खोज्छ
बस्ती नानी यामको स्नेह खोज्छ
हामी टेक्छौँ स्नेह मागेर माटो
होस् फैलेको स्नेहको दिव्य पाटो ।४।
छाती चिर्दै किन्तु ल्याई धरामा
आफैँ बिर्सी गर्नु स्याहार नाना
खाओस् भन्दै भोक खप्ने मजैले
आमा अग्ली हुन् भएकी त्यसैले ।५।
हाँसे नानी हाँस्छ धर्ती अकाश
चम्के नानी चल्छ चोखो सुवास
संहाल्दै यो खोकिलामा विवेक
राखौँ माया कोपिलामा अनेक ।६।

