क्रान्तिको विगुल

-

लेखक: मोहन प्रसाद फुयाल

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता (अनुष्टुप छन्द)

प्रकाशन मिति: २०८२ भाद्र २८ शनिवार

ठानेर देश खेलौना को को खेल्छौ अझै पनि

मानेर पुतली खेल्छौ हेर्दैछु दर्शक बनी

भोकाको पेटमा किची नाङ्गाको मान मर्दन

लत्याई काख आमाको ताक्दछौ खड्ग गर्दन

भुलेर वीरको त्याग हाँस्छौ रगतमा बसी

मसान घाटको जस्तो नाच्दै छौ भस्म त्यो घसी

माया छ देशको भन्छौ पोको छ स्वार्थको ठुलो

आए संकटको आँधी खोज्दै हिँड्छौ ठुलो दुलो

आमाको प्यार हो भन्छौ झोला बोकेर स्वार्थको

हेर्यो आतंक हिंसा छ स्वप्ना मात्र छ हर्षको

खेताला भ्रमका बोकी छर्दछौ भ्रमकै बिउ

चुसी रगत छोराको ढाडियो उसकै जिउ

निमोठी कलिला घाँटी फल्छ के फल उन्नत?

देश उजाड पारेर खुसी कोचाहिँ बन्दछ ?

रोप्नुछ रक्तको बीज उखेली दासता भनी

आशाको दीप बालेर घडीमा शोकको पनि

उठ हे जनता फेरि बैरीले दाउ खोज्दछ

हजार हात जुट्दामा धर्ती छाडेर भाग्दछ

हातमा हात जोडेर बिगुल फुक क्रान्तिको

उदाएको बिहानी यो फुली फले त बेस भो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य