मोहनप्रसाद फुयालको कविता : कलमको विद्रोह

-

कलमको विद्रोह

लेखक: मोहनप्रसाद फुयाल

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र २१ शनिवार

खै कसले देख्यो र

घोप्ट्याएर तृष्णाको प्याला,

ठड्याएर स्वाभिमानको शैलश्रेणी,

लगाएर उन्नत बाली

जो उमारिरहेछन् देश बनाउने कल्पवृक्ष,

जसले बचाइरहेछन् देशको साख,

राष्ट्र भएर पनि राष्ट्र नभएको

नेताकै मात्र रामराज्यमा,

जो रामराज्यझैँ भएर

बनिरहेका छन् बेसहाराको सहारा,

गरिबको दाता,

अनाथको अभिभावक।

खै कसले देख्यो र

असंख्य विद्यार्थीहरूलाई

शीतल छहारी दिएको,

आवासीय सुविधा, पूर्ण छात्रवृत्ति दिएको।।

होइन शिक्षा ऐनले निर्दिष्ट गरेर

आज ल्याउन लागेको ऐनभन्दा

धेरै माथि उठेर

किताब दिएको,

कापी दिएको,

केवल अभिभावक मात्र होइन

ममताकी खानी माता र कर्मयोगी

पितालेझै ममता दिएको

जुन कुरा छैन

संविधानको कुनै धारामा।

खै कसले देख्यो र

लिलामी राखेर सपना,

शिक्षाको अविनाशी ज्योति फैलाएर

लेस पनि आउन नदिएर

रूमानी उडान भर्ने सपना

केवल

देशका भविष्यसँग

कलिला ओठहरु हाँस्दा सधैँ हाँसिरहे

सधैँ सपना तिनीहरूकै खुसीमा देखिरहे

आज मडाररिरहेको छ

कालो बादल आकाशमाथि

गर्जिरहेको छ बेसुरा मेघ

जसले विध्वंस पार्न

खोजिरहेको छ

शिक्षाको उर्वर भूमिलाई

जो खोजिरहेछन् निमोठ्न

सारा विश्वमा फैलिएको

उन्नत बिरुवाको घाँटी

किन खोजिँदैछ अनागरिक बनाउन

क्रान्तिको शङ्खनाथ गर्ने

शिक्षाका सारथीहरूलाई

किन गरिँदै छ नजरअन्दाज

देशको संविधान लेख्ने कलमहरूलाई

किन बिर्सिँदैछन्

नेताले ऐन लेख्ने कलम शिक्षक हो भनेर

गरिँदैछ संविधानको अपव्याख्या

यो देश कसको हो ?

नेताको

भोटको लागि नोट बाँडेर

जो गराउँछन् सत्ताको लागि देशलाई पत्तासाप

हो यो देश ती जनताको पनि

जसले आँसु खाएर हाँसो जन्माउँछन्,

हाँसी हाँसी बलिदानी दिन्छन्।

जसको हातको रेखामा

सपना अंकुरिन्छ,

जसको छातीमा

लेखिएको छ कलमले

वीरताको गाथा

त्यसैले चाहन्छौँ हामी

शिर ठाडो पारेर

अझै फराकिलो बनाउन

कलमको मसी जस्तै निलो गगन,

सँगै ध्वजाको सिम्रिक रङलाई साक्षी राखेर

शिक्षाको अनन्त यात्रा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य