हे आमा !

लेखक: नारायणबाबु तिम्सिना
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र २१ शनिवार
हे आमा !
धैर्य गरेर
हामीलाई साथ दिनु है
हामी अधैर्य भएको बेला ।।
हे आमा !
यहाँ जनजनको मन दुखेको बेला
मेची देखि महाकाली सम्म
ज्ञान, सीप र संस्कार नपाएर
गुणस्तरीय शिक्षा नपाएर
आम नागरिकको मन दुखेको बेला
बिचौलियाहरूले देशद्रोह गरेर
वयस्क युवायुवतीहरू जस्तै
कलिला बालबालिका र विद्यार्थीहरू
हाम्रा गल्ली गल्ली अनि
बाटा बाटारूमा ढाट लाएर
हाम्रा स्कुल र कलेजहरू
अपशोच् बन्द गरेर
बिदेशका चोक चोकमा
अक्सन खोलेर
दिन दहाडै मान्छे
बेचिरहेको बेला
अरबौँ पूँजी बिदेसिएको बेला
यी सबै कुकृत्य र बेथिति रोक्न
हामीले संघर्ष गरीरहेको बेला
आमा !
धैर्य गरेर
हामीलाई साथ दिनु है
हामी अधैर्य भएको बेला ।।
हे आमा !
यहाँ तपाईँको आफ्नै मन दुखेको बेला
जनहित र देश विकासको
जनमत मार्फत् कसम खाएर
देश र जनताप्रति नै धोकाधडी गरिरहँदा
विभिन्न रङ्ग, कद र अनुहारहरूका
बिधायकहरूले बुद्धि गुमाएर
देशद्रोही ऐन, नियम र कानुन बनाइरहेको बेला
आमा !
आगामी चुनावमा
सम्पूर्ण हिसाब मिलाउने गरी
धैर्य गरेर
हामीलाई साथ दिनु है
हामी अधैर्य भएको बेला ।।

