
लेखक: मोहन प्रसाद फुयाल
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र १४ शनिवार
पहारा बीचको फूल देखिन्छ कति सुन्दर।
आहा हिमालको पानी सदा स्वच्छ र निर्मल।।
हो यस्तो रचना गर्ने देशलाई बचाउन।
लेखेर कविता राम्रा दु:खीलाई हसाउन।।
कमल त्यो हिलोभित्र फुल्दा कति मनोहर ।
रातमा आउने जून देखिन्छ कति झल्मल।।
वायुको शक्ति हो कस्तो सारा प्राणी बचाउने।
कविका सृजना पढ्दा मन साच्चै रमाउने।।
चेतना दीप बालेर गाउँ गाउँ उठाउन ।
सोझा पीडित लाटाको उपकार गराउन ।।
अाँसु पुछेर मान्छेको स्वयं कवि रमाउछ।
मग्मग वासना छर्दै वसुन्धरा सजाउछ।।
शब्द हुन् पालुवा जस्ता सरल अनि कोमल ।
भाव आनन्द मिल्ने होस् शिल्पकला नि सुन्दर।।
भोकाको गासको निम्ति न्यायको लागि तात्पर्य ।
देश उन्नति गर्ने हो कविता पोसिला भर।।
बालकको मीठो माया आमाको मुटु माझमा।
कविता सर्वदा छाओस ज्योति बनेर साझमा।।
पुजारी श्रमका जो छन् कलमले उठाउन ।
जीवनका कथा लेखी युगौ युग बचाउन ।।

