च्यासलमा जन्मिएको जङ्गबहादुर

-

च्यासलमा जन्मिएको जङ्गबहादुर

लेखक: प्रा. डा. बद्रीविशाल पोखरेल

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

उषा किरणको आँसुमा भात भुटेर भुजा ज्युनार गर्छ जगबहादुर

विद्याको मुटुमा सोला बर्साएर अट्टहास गर्छ जङ्गबहादुर

निभ्ने बेलाको बत्तीजस्तो गरी खपिन सक्नु गरी उम्लिएको छ

मत्ता हात्तीजस्तै मैमत्त भएको छ ।

 

आफ्नै मामा माथवर सिंहको

निर्मम हत्या गरेर जन्मिएको जङ्गबहादुर

आफ्नै मितको जीवन सफाया गर्न जाल बिछ्याउने जङ्गबहादुर

नवीनाको करुण क्रन्दनलाई सुमधुर स्वर सङ्गीत मानेर सुकला हुन्छ ।

 

जङ्गबहादुरले मदनलाई त चरिनाङ्गै बनायो

जङ्ग अब उ जबजको ज्यान लिन आतुर छ

च्यासललको जङ्गबहादुर, जबजको ज्यान लिन आतुर छ ।

 

पुतनाका भरमा नपरे हुन्छ जङ्गबहादुर

च्यासलका पुतला भेला पारेर घमन्ड नगरे हुन्छ

हामीसित सीता, सती र सावित्री छन्

हामीसित ज्युँदा सहिदका अधूरा सपना छन्

हामीसित रत्न बान्तवा, ऋषि आजाद र रामनाथ दाहाल छन्

हामीसित विचार, सिद्धान्त जीवन आदर्श छ

हामी सित सत्य न्याय र समानता छ

दुष्शासनका काँधमा चढेर सैसला खेल्नु बेकार छ, जगबहादुर

च्यासलको चिहान घारीबाट जङ्गबहादुर बौरियो

हाम्रै असावधानीले जङ्गबहादुरको प्रेत जाग्यो

सामन्तवादका भूतप्रेत बेलैमा नपन्छाउँदा

यसलाई समयमै नमन्साउँदा

एकोहोरो विश्वासमा पर्दा

पथ परहेजमा राम्ररी ध्यान नपुर्याउँदा

आफ्नै शरीरभित्र क्यान्सर पलायो

लालझण्डाको आवरणमा जङ्गबहादुर जन्मियो

धनवाद र डनवादमा अवतरित भयो ।

 

अहिले त जङ्गबहादुर

आफूले आफैँलाई महाराज भन्न थाल्यो

सरकार, सत्ता र सम्पत्तिको अहङ्कारग्रस्त जङ्गबहादुर

अर्को कोतपर्वको खोजी गर्न थाल्यो ।

 

जङ्गबहादुर

जनतन्त्रको दुहाइ दिएर राजतन्त्रको नायक बन्न आतुर छ

पटाङ्गिनीबाट अपानिका नाममा देशैभरि फर्मान जारी गर्छ,

र भन्छ,

मेरो आदेशबिना कोही केही बोल्न पाउँदैन

हाम्रा हजुरमा बिन्ती नबिसाई कोही कहीँ चटपटाउन पदाउँदैन

देशै भरि आतङ्कको भ्याली पिटाएको छ ।

 

दुर्योधन दाहिना हातमा छ भनेर नहौसिए हुन्छ

सारा कौरवहरू एक चिहान भएको सम्झना गरे हुन्छ

जङ्गबहादुर तिम्रो अवसान सन्निकट छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य