मोहनप्रसाद फुयालको कविता: बुबा

Categories:

-

बुबा

लेखक: मोहन प्रसाद फुयाल

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

बुबा !

सफेद सपनाको सुन्दरतामा

सजिएको सुदृढ सुभाषित,

अदम्य साहसको भारी बोकेर

तिमी अविछिन्न उकालो

चढिरह्यौ मेरा लागि जीवनभर।

बुबा, तिमीले

आफ्ना रहरलाई बन्दकी राखेर

मेरो लागि सजाइरह्यौ सपनाको सगरमाथा।

औँसीको कालो रातमा

नौ लाख ताराहरू जस्तै

म पनि एउटा तारा बनेर

धरतीलाई स्पर्श गरेसँगै

भएथ्यो उज्यालो।

तर त्यो क्षणभङ्गुर रहेछ।

मैले खोजिरहनु परेको छ

जीवनभरि उज्यालो।

त्यही उज्यालोको खोजीमा

आज पनि

यो बत्तीको झिलिमिली सहरमा

म अध्यारोमा बाचिरहेको छु।

तिमीले मलाई काँधेकुरी हालेर

धोबी र शिरिशेको

अनकन्टार जंगलमा

छायालाई साथी बनाएर

छामछाम छुम छुम गर्दै

मेरो छोराले पाखुरी चलाउन परे पनि सकोस्

भन्ने ठानेर काठमाडौं आएको

संगै सम्झिरहेको छु

अस्पताल धाएरको

तिम्रो अग्लो काँधेकुरीमा बस्दा

ठानेर होला,

तिम्रो छातीभन्दा धेरै टाढा छु भनी

म डराउँदा,

तिमीले फेरि औलाले मेरो हात समातेर

डोर्याउँदै हिडाएको।

त्यसैले तिमीले

डोर्याएर हिँड्न सिकाएरै होला

जीवनका कठिन कठिन उकालाहरू

एक्लै हिँड्न सक्ने भएको छु।

बुबा!

तिमीले एक्लै अस्पतालमा कैयौँ रात छाडेर होला,

आज पनि एक्लै संघर्ष गरिरहेको छु

तिम्रो सपनालाई साकार बनाउन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य