बिसुकुमार के.सी.को: तिम्रो कविता मेरो कविता

-

तिम्रो कविता मेरो कविता

लेखक: बिसुकुमार के.सी

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

तिम्रो कविता मेरो कविता
पहिले तिम्रो कविता सुनाउ
अनि म मेरो कविता सुनाउँछु
त्यसपछि
एक हरफ तिम्रो कविता
अर्को हरफ मेरो कविता
क्रमश मिसाएर पढौँ
यसो गर्दा
कस्तो सुनियो हाम्रो कविता
दुनियाँलाई सोधौँ ।

हाम्रो दिनचर्या मिलाउनु अघि
यो दुनिया चलाउनु अघि
अक्षरहरु मिलाऔँ
वाक्यहरू संयोजन गरौँ
यी अक्षर र वाक्यहरू
कुन तिम्रो कुन मेरो
कुन आफन्तको कुन पराइको
हामी विवाद नगरौँ
एक हरफ तिम्रो कविता पढौँ
एक हरफ मेरो कविता पढौँ
वेद पुराण वाइवल कुरान जस्तो वेग्ला वेग्लै होइन
हाम्रो कविता एक बनाऔँ

भाषा फरक भए पनि
परिभाषा फरक नहोस
विचार- सिदान्त – वाद फरक भएपनि
विवादको हरक नहोस
सारा दुनियाँको कविता
एउटै संग्रहमा प्रकाशित गरौं ।

कविता इन्द्रेणी हो
सबै रंग कवितामा हुन्छ
कवितामा रंगभेद हुँदैन
कविताको जात धर्म देश र नागरिकता हुँदैन
कविता विश्व ब्रमाण्ड हो
कविता न `बिग ब्याङ्ग´ बाट सिर्जना हुन्छ
न ब्रम्हाजीले सृष्टि गर्नु भएको हो
कविता मान्छेले मात्र सिर्जना गर्न सक्छ
कविता मानवको सृष्टि हो
र त कविताले मानवलाई समेटनु पर्दछ
मानवलाई जोडनु पर्दछ
त्यसैले
पहिले तिम्रो कविता सुनाउ
अनि म मेरो कविता सुनाउँछु
त्यस त्यसपछि
एक हरफ तिम्रो कविता
अर्को हरफ मेरो कविता
क्रमश मिसाएर पढौँ
सुरुवातमा हाम्रो कविता जोडौँ
अनि यो दुनियाँलाई जोडौँ ।

यो कविता बिसुकुमार के.सी.को ‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रहबाट साभार गरिएको हो। उक्त कृति भदौ १३ गतेबाट बजारमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य