नारायणबाबु तिम्सिनाको कविता : मेरो काले

Categories:

-

मेरो काले

लेखक: नारायणबाबु तिम्सिना

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

मेरो काले मीठो खानु पर्यो अरे
आदिसरो पोखेर खान छोडेको छैन
आधुनिक जमानाका उपमानव जस्तो
बेला बेला आउटिङ जानू पर्यो अरे

मेरो प्यारे राम्रो लाउनु पर्यो अरे
बा को खल्ती प्वाल परेको पत्तै छैन
बिजनेस घरानाका साहुकै जस्तो
दैनिक पोशाक फेर्नु पर्यो अरे

मेरो चाउरे ह्याण्डसम हुनु पर्यो अरे
शहर बसेपनी गाउँको गन्ध गएकै छैन
असरल्ल खुलेका ब्युटीपार्लर खोजेर
हप्तै नबिराई धाउनु पर्यो अरे

मेरो च्यान्टे स्वतन्त्र र खुसी हुनु पर्यो अरे
बालखको र् याले भोटो धोएकै छैन
तन्नेरी वयको विद्वानकै जस्तो
बिदेशको भिसा लाउनु पर्यो अरे

मेरो पुन्टे आधुनिक बन्नु पर्यो अरे
बाबुको हात समातेर हिँड्न छोडेकै छैन
सोसल मिडियाका सुपर म्यान जस्तो
सबै कुरा उसले भने जस्तै हुनु पर्यो अरे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य