काठमाडौं,६ भदौ । सत्तारूढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय दूतावास नजिकै विरोध प्रदर्शन गरेको छ। भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्ने सहमतिपछि संगठन सडकमा उत्रिएको हो।
अमृत साइन्स क्याम्पसका स्ववियु सभापति रुद्रहरि पोखरेलको नेतृत्वमा टोलीले शुक्रबार दिउँसो लैनचौरस्थित खानी तथा भूगर्भ विभाग र लन्डन क्याफेबीच केही समय नाराबाजी गर्यो। उनीहरूले ‘नेपालको भूमि नेपालकै हो’, ‘लिपुलेक–कालापानी–लिपियाधुरा फिर्ता गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘अतिक्रमण रोक’ जस्ता नारा लगाए।
प्रदर्शनकारीले भारतीय कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको प्रहारका रूपमा व्याख्या गर्दै सरकारलाई कूटनीतिक दबाब बढाउन माग गरे। उनीहरूले सरकारले सशक्त पहल नगरेमा विद्यार्थी आन्दोलन चर्किने चेतावनी पनि दिए।
अनेरास्ववियुका कार्यकर्ताले विरोध प्रदर्शनपछि काठमाडौँका विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन्। जुलुसमा सहभागीहरूले राष्ट्रियता र सीमा सुरक्षासम्बन्धी नारा लगाउँदै लैनचौर क्षेत्र परिक्रमा गरेका थिए।
भारत र चीनबीच सन् १९५४ देखि लिपुलेक हुँदै व्यापार हुँदै आएको भए पनि नेपालको दाबी अनुसार लिपुलेक, कालापानी र लिपियाधुरा क्षेत्र नेपालकै भूभाग हो। यसअघि पनि सरकारले भारतले बनाएको नयाँ नक्सामा नेपालका भूभाग समावेश गरेको विरोध जनाएको थियो।
अनेरास्ववियुले सरकारले संविधान र नेपालको भूमि रक्षाका लागि ठोस कदम चाल्नुपर्ने, आवश्यकता परे कूटनीतिक नोटमार्फत सन्देश पठाउनुपर्ने माग गरेको छ। संगठनले यस विषयलाई राष्ट्रको अस्तित्वसँग जोडिएको भन्दै आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएको छ।

