म को हुँ र मलाई के चाहिन्छ ?

Categories:

-

म को हुँ र मलाई के चाहिन्छ ?

लेखक: नारायणबाबु तिम्सिना

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: ३१ श्रावण २०८२, शनिवार

म दक्ष शिक्षक हुँ मलाई स्वतः स्थायी चाहिन्छ,
करार , राहत, अस्थायी इत्यादि भनेर यत्तिकै हटाउन कहाँ पाइन्छ ?
हामीले भनेकै जस्तो ऐन ल्याउन आन्दोलन गरेरै भए पनि
मन्त्री मात्र किन अब प्रधानमन्त्रीकै जागीर खाइन्छ।।

म देशभक्त कर्मचारी हुँ मलाई कुलिङ पिरियड चाहिन्छ ,
तलबले पुग्दैन भन्ने थाहा पाई पाई घुस खायो भन्न कहाँ पाइन्छ?
सचिव वा समितिका सभापति जो सुकैलाई भनेर भएपनि
यता सकिने बित्तिकै उता आजीवन जागीर खाइन्छ ।।

म असल व्यापारी हुँ मलाई भनेजति नाफा खाने छुट चाहिन्छ ,
उपभोक्तालाई खुसी पारेकै छु बेला बेला अनुगमन गर्न कहाँ पाइन्छ?
थरीथरी ब्राण्डका स्टिकर र प्राइस ट्याग टाँसेरै भएपनि
मलाई मेरै रेटमा सामान बेच्ने स्वच्छन्दता चाहिन्छ ।।

म स्वतन्त्र पत्रकार हुँ मलाई प्रेस स्वतन्त्रता चाहिन्छ,
प्रजातन्त्रमा कलमजिवीको आवाज थुन्न कहाँ पाइन्छ?
मिडिया हाउस चलाउन निकै गाह्रो छ त्यसैले आफू बाँच्न कै लागि भएपनि
मौसम अनुसार आफ्नै मर्जीले बिक्ने समाचार बनाइन्छ।।

म जननिर्वाचित सांसद हुँ मलाई एक थान मन्त्री चाहिन्छ ,
चुनावमा गरेको त्यत्रो खर्च नजरअन्दाज गर्न कहाँ पाइन्छ?
जसरी नगइ हुन्न सत्तामा गुट फेरेरै भएपनि
मन्त्रालय अपुग भए एक दुईवटा फोडेर भाग लाइन्छ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य