वीरगञ्ज, ३० साउन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, महिला उद्यमशीलता विकास समितिद्वारा आयोजित ‘बृहत् महिला सम्मेलन–२०८२’ आगामी भदौ १४ गते, शनिबार आयोजना हुने भएको छ। सम्मेलनमा पूर्वराष्ट्रपति सम्माननीय विद्या देवी भण्डारी प्रमुख अतिथि रहने आयोजकले जनाएको छ।
महिला उद्यमशीलताको क्षेत्रमा नयाँ सम्भावना र अवसर पहिचान गर्न, नेतृत्व क्षमता विकास गर्न र आर्थिक सशक्तिकरणको अभियानलाई तीव्रता दिन यस सम्मेलनको आयोजना गरिएको हो। समितिका पदाधिकारीका अनुसार, कार्यक्रममार्फत महिला उद्यमी, व्यवसायी, सामाजिक अगुवा, नीतिनिर्माता र युवतीहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान गर्ने अवसर दिलाइनेछ।
सम्मेलनमा महिला उद्यमशीलताको वर्तमान अवस्था, बजार विस्तारका रणनीति, प्रविधि प्रयोग, वित्तीय पहुँच, व्यवसायमा लैङ्गिक समानता, महिला–मैत्री नीतिको आवश्यकता लगायतका विषयमा विशेषज्ञहरूद्वारा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। साथै, सफल महिला उद्यमीहरूको जीवनकथा र व्यवसायिक यात्राले सहभागीहरूलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागिता जनाउन इच्छुकले अनिवार्य रूपमा अनलाइन रजिष्ट्रेशन फारम भरनुपर्नेछ। त्यसका लागि आयोजकले https://forms.gle/78mBVD222hUTkN5P7 लिंक सार्वजनिक गरेको छ। फारम भर्दा समस्या परेमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सचिवालयमा सम्पर्क गर्न सकिनेछ। आयोजकले सिट संख्या सीमित रहेको भन्दै चाँडै रजिष्ट्रेशन गर्न अनुरोध गरेको छ।
सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, विभिन्न व्यापारिक तथा पेशागत संघ–संस्थाका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, गैरसरकारी संगठनका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि टोल–फ्रि नम्बर 18105000221 मा सम्पर्क गर्न सकिनेछ। आयोजक समितिले यस सम्मेलनलाई वीरगञ्ज मात्र नभई देशभर महिला उद्यमशीलता र नेतृत्व विकासमा नयाँ युगको सुरुवात गर्ने ऐतिहासिक अवसरका रूपमा लिने तयारी गरेको बताएको छ।

