हेटौडा, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नियुक्त भएको एक सातापछि नै उनले विश्वासको मत लिन लागेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव अघि बढाउने तयारी गरेका हुन्।
यसअघि सत्तारुढ दल नेपाली कांग्रेसका सदस्य सचिव मीनकृष्ण महर्जन र एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले आफ्ना–आफ्ना दलका सांसदलाई अनिवार्य उपस्थित भई मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। प्रदेशसभामा कांग्रेस र एमालेको संयुक्त बहुमत रहेकोले बानियाँलाई सहजै विश्वासको मत प्राप्त हुने अनुमान गरिएको छ।
यसपटक प्रदेशसभाको बैठक नयाँ भवनमा बस्ने भएको छ। भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न भई हस्तान्तरण भइसकेको सचिवालयका सचिव पौडेलले बताए। हेटौँडा, मकवानपुरस्थित प्रदेशसभा सचिवालयको नयाँ भवनमा आजबाट आधिकारिक बैठक सञ्चालन हुने तयारी भएको हो।
२०७७ साल मङ्सिर १० गते शिलान्यास गरिएको भवन १८ महिनामा सक्ने लक्ष्यसहित २०७७ कात्तिकमा ठेक्का दिइएको थियो। तर ठेकेदार कम्पनीको ढिलाइका कारण करिब पाँच वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो। पाँच करोड २९ लाख रुपैयाँ लागतमा अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले भवन निर्माण गरेको हो। सहरी विकास तथा भवन कार्यालय, हेटौँडा मार्फत काम सम्पन्न भएको कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।
नयाँ भवनमा पहिलो बैठक बस्न लाग्दा प्रदेशसभा सचिवालय र सांसदहरू उत्साहित देखिएका छन्। सचिवालयले आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आजको बैठकमा विश्वासको मतको प्रक्रिया मात्र नभई नयाँ भवनमा औपचारिक सुरुआत पनि हुने भएकाले यसलाई प्रदेशको राजनीतिक तथा प्रशासनिक दृष्टिले महत्त्वपूर्ण दिनका रूपमा हेरिएको छ।

