घोषणा
शैली: कविता
प्रकाशन मिति: २४ साउन २०८२
ता छोप्यो उता देखिन्छ
उता छोप्यो यता चिहाउँछ
जति गरे पनि लुकाउनै सकिन
तिम्रो माया ।
यता सम्हाल्यो उता फुस्किन्छ
उता टाल्यो यता चुहिन्छ
कति कोसिस गरे सम्हाल्नै सकिन
तिम्रो माया ।
बादलले जति ढाके पनि
चुहीहाल्दोरहेछ घामको किरण
धेरै बेर त कहाँ ओत्न सक्दो रहेछ र
ठूलै रुखका पातहरूले पनि वर्षात
आखिर माटोले पनि
धेरै दिन छोप्न कहाँ सक्छ र
विजको अंकुरण
मेरो त पातलो मन न हो
तिम्रो मुस्कानले पनि फैंलिदो रहेछ
तिम्रो हेराईले पनि फुल्दो रहेछ
तिम्रो स्पर्शले त झन
लज्जावति झार झै लतृदो रहेछ
सकिन मैले गुपचुप राख्न
तिम्रो माया
सकिन मैले छोप छाप गर्न
तिम्रो माया ।
स्वादमात्र भए त जिब्रोभित्र लुकाएर राख्थे होला,
वास्न पनि हुँदोरहेछ मायाको
वरिपरिकाले पनि चाल पाई हाले सुगन्ध मायाको
वतासमात्र होइन नि
मेरालागी सास पनि हो
तिम्रो माया
एकोहोरो बग्न वा थुन्न पनि सकिदो रहेनछ
ओहरदोहर गरिरहन्छ तिम्रो माया ।
क्यै गरे पनि रोक्न सकिन तिम्रो माया
उमलिन्छ, छचलकिन्छ, यता उति पोखिन्छ
रोकेर रोक्न सकिन तिम्रो माया
हो भने हो भन्दिन्छु आज म तिम्रो माया
यो दिलको चौतारोमा उभिएर घोषणा गर्दिन्छु म तिम्रो माया ।

