आह्वान
शैली: कविता /अनुष्टुप छन्द
प्रकाशन मिति: २४ साउन २०८२
बाजि राखेर प्राणैको परिवर्तन खातिर
के पाए जनताले खै आाशु शिवाय आखिर
श्रम बेच्न युवा जम्मै गएका छन् विदेशमा
राम्ररी काममा लाग्ने नेता जन्मेन देशमा
घुडा टेकाइ बैरीको स्वाभिमान बचाउने
स्वतन्त्र राष्ट्र हो हाम्रो इतिहास बनाउने
खुडा र खुकुरी बोकी लोक सैनिक भेषमा
निस्वार्थ काममा खट्ने नेता जन्मेन देशमा
प्रजातान्त्रिक मोर्चामा बत्तीको पुतलीसरि
ठानेनन् तन्त्र आएको प्रजाको त्यागले गरी
प्राण आहुति हासेर छाडेनन् दिन देशमा
आमाको दु:ख बुज्ने खै मन्त्री जन्मेन देशमा
आफ्नु मात्र भुडी भर्ने दाउमा मात्र ध्यानछ
दुखेको घाउमा पट्टी लाउने कति ज्ञान छ ?
ढलिमली गरी नेता जनतामात्र आशमा
हासो छर्ने मुहारैमा नेता जन्मेन देशमा
सोपान जनता ठानी धेरै माथि पुगेपछि
हेर्दैनन् फेरि फर्केर भोट पाई सकेपछि
सडकमा उफारेर भेडा बनाइं खासमा
साच्चैको जनता चिन्ने नेता जन्मेन देशमा

