काठमाडौँ, १२ साउन।नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको सचिवालय बैठक यही साउन १८ गते बस्ने भएको छ। पार्टी संगठनको नियमित कार्यसूचीअनुसार सचिवालय बैठक तय गरिएको हो। सचिवालय बैठकपछि काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूसँग समन्वय गर्दै क्षेत्रीय समन्वय बैठकसमेत आयोजना गरिनेछ।
पार्टीका अनुसार काठमाडौं जिल्लाभित्रका सबै १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूको क्षेत्रीय समन्वय बैठक साउन १९ र २० गते दुई चरणमा सञ्चालन गरिनेछ। सो बैठकका लागि आवश्यक तयारी तथा समन्वय गर्न सम्बन्धित क्षेत्रीय नेतृत्वलाई निर्देशन दिइएको छ।
जिल्ला सचिवालय सदस्य एवं एक नेताका अनुसार, “सचिवालय बैठकमा हालको राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, सदस्यता नविकरण, प्रशिक्षण कार्यक्रम र आगामी महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ। त्यसपछि क्षेत्रीय तहमा योजना कार्यान्वयन र समन्वयको सिलसिलामा बैठक गरिनेछ।”
यस्तै, क्षेत्रीय बैठकमा निर्वाचन तयारी, क्षेत्रगत सांगठनिक कमजोरीको समिक्षा, स्थानीय तहसँग समन्वय तथा जनसंपर्क विस्तार रणनीतिलगायत विषयमा विशेष छलफल हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार, “संघीय निर्वाचनको सम्भावित तयारी र संगठन सुदृढीकरणलाई मध्यनजर गर्दै क्षेत्रीय बैठकलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको हो। बैठकमा क्षेत्रीय कमिटीहरू, जनवर्गीय संगठनहरू र भातृ संस्थाका प्रतिनिधिहरूको उपस्थिति अनिवार्य रहनेछ।”
यसपटकको बैठकलाई “सक्रिय कार्यकर्तामैत्री र संगठनमुखी” बनाउने प्रयास गरिएको जिल्ला कमिटीले बताएको छ। काठमाडौंजस्तो शहरी जिल्लामा पार्टीको सांगठनिक बल अझ मजबुत पार्न बैठक निर्णायक हुने विश्वास गरिएको छ।
सचिवालय बैठक तथा समन्वय बैठकको तयारी तीव्र बनाइएको र बैठक स्थल तथा समयका सम्बन्धमा छिट्टै विस्तृत कार्यक्रम सार्वजनिक बताइएको छ।

