बुटवल, १० साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति समर्थन जनाएका राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संगठनले एक वर्षका लागि निलम्बन गरेको छ। नेकपा (एमाले) निकट यो भ्रातृ संगठनले खरेलमाथि संगठनविरोधी गतिविधि, नेतृत्वको आलोचना, र अनुशासनहीनता गरेको आरोप लगाउँदै सबै जिम्मेवारीबाट हटाएको हो।
संघका महासचिव महेश चौलागाईंको हस्ताक्षरमा जारी पत्रअनुसार खरेलले १०औँ महाधिवेशनका क्रममा अध्यक्षमण्डलका सदस्यहरूप्रति अशिष्ट व्यवहार गर्नुका साथै प्रतिनिधिहरूलाई धम्की दिएको, सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई लाञ्छना लगाएको र संगठनमा अराजकता फैलाएको उल्लेख छ।
पार्टीले उनलाई यसबारे तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएको थियो। तर खरेलले इमेलमार्फत पठाएको स्पष्टीकरणलाई गैरजिम्मेवार र अराजक ठहर गर्दै संगठनले त्यो अस्वीकार गरेको छ।
रुपन्देहीको देवदहका स्थायी बासिन्दा खरेल एमालेका नेता तथा देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। उनले केही दिनअघि फेसबुकमा लेखेका थिए, “अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्।” यही अभिव्यक्तिलाई लिएर उनी विवादमा आएका हुन्।
उनले तीन पृष्ठ लामो इमेलमार्फत आरोप अस्वीकार गरे पनि संघले साउन ९ गतेदेखि लागू हुने गरी उनलाई राष्ट्रिय युवा संघ नेपालको विधानअनुसार एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।


