बेलुन झरिरहेछ
— वैरागी जेठा
आकाशबाट झरिरहेका बेलुनहरू
धर्तीमाथि धावा बोलिरहेछन्,
आकाशले धान्नै नसक्नेहरू
शहरका भवनताकेर खसिरहेछन्।
मज्दूरहरूका पसिनाले निर्मित
मानवताका पर्खालहरू भत्किएकाछन्,
वैभवको पछिल्तिर
दैन्यपूर्ण र शोकमय दृश्य देखाएर
बालबच्चा, बूढाबूढी, तरुना तरुनी
केही नभनेर जीवको विनाश गर्न
उनीहरूले लामोदूरीका रसायन यानहरू—
जिटुए पाँच, बि.दुई, जि.टिए पाँच, केसि १३५, सि—१७
जस्ता यन्त्रहरू बेलुनझैँ उडाइरहेछन्।
बीचभागमै टुक्रा टुक्रा भएर
खसिरहेछन् एकनास,
घरहरू रूखझैँ ढलाउन
विषादी धूवाँहरू फैलिएर
हजारौँ कोश दौडिरहेछन्,
जीवहरू अलतालिएकाछन्।
गहुँबारीमा वारुदका मोटहरू गुडिरहेछन्,
सडकहरूमा
सडक आगो भएर बलेको छ यतिबेला।
महिला, बच्चाहरू चिच्याइरहेछन्—
कठै कमिलाहरू!
इञ्जिन धुकधुकाएर
घण्ट बजाइरहेछन् पुतलीहरू!
साँचिकै मानव उम्रिएका छैनन्
मानवताको गीत गाउँन,
काला धूवाँले ढाकिएको सन्सार,
आकाशका सङ्गीतले
घरहरू निवस्त्र ढलेकाछन्।

