विद्यालाई रोक्दा काठमाडौँ अध्यक्ष बम्किए — इतिहास सम्झाउँदै ओलीलाई दिए चेतावनी

Categories:

-

काठमाडौं, ७ साउन  । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि पार्टीभित्रै असन्तोष सतहमा आउन थालेको छ। मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेसँगै काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले सामाजिक सञ्जालमार्फत इतिहास स्मरण गराउँदै असहमति जनाएका छन्।

अध्यक्ष निरौलाले सामाजिक सञ्जालमा लेखेका छन्, “इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको । यसै गरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसै गरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेगकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।”

उनको टिप्पणीले पार्टीभित्रको अन्तरविरोध झल्किन्छ। विद्या भण्डारी पछिल्लो समय सार्वजनिक कार्यक्रममा सक्रिय देखिएकी छन्। उनले राजनीतिक सम्बोधन गर्दै राष्ट्रिय र पार्टी राजनीतिका विषयमा धारणा सार्वजनिक गर्दै आएकी छन्। यसलाई लिएर पार्टीमा दुई धार देखिएको थियो— एक पक्ष भण्डारीलाई स्वागत गर्न चाहन्थ्यो भने अर्को पक्ष उनलाई पार्टी राजनीतिबाट टाढा राख्नुपर्ने अडानमा थियो।

एमाले नेतृत्वले भण्डारी राष्ट्रपति भइसकेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भन्दै पार्टी संलग्नता नदिने नीति लिएको बताइएको छ। तर अध्यक्ष निरौलाको भनाइले यस्तो निर्णय सबैको सहमतिमा नभएको संकेत गरेको छ।

पार्टीभित्र विद्या भण्डारीप्रति रहेको समर्थन र असहमतिका आवाजहरू अब खुला रूपमा बाहिर आउन थालेका छन्। यो विषयले एमालेभित्रको आन्तरिक राजनीति अझ चर्किने अनुमान गरिएको छ। अध्यक्ष निरौलाको टिप्पणीपछि अन्य नेताहरूको धारणा पनि सार्वजनिक हुने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य