काठमाडौं, साउन ५ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमा उमेर हदको प्रावधान हटाउने पक्षमा जेल जीवन घटाउने तर्क प्रस्तुत गरेपछि पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्।
पार्टी विधानमा रहेको ७० वर्षे उमेर सीमा हटाउने प्रस्तावमा ओलीले आफू जेलमा बसेको समय गणनाबाट हटाइनुपर्ने तर्क गरेका थिए। त्यसलाई लक्षित गर्दै रावलले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै भनेका छन्, “झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ। अब त बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?”
छ महिनाअघि एमालेबाट निष्कासित नेता रावलले ओलीको सत्ता मोहप्रति टिप्पणी गर्दै थपे, “केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न यस्तो तर्क अघि सारिएको हो।”
एमालेको हालैको सचिवालय र पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको थियो। ओलीको निरन्तर नेतृत्वलाई संस्थागत रूप दिन यो प्रस्ताव गरिएको भन्ने विश्लेषण भइरहेका बेला रावलको यस्तो टिप्पणी आएको हो।


