काठमाडौँ, साउन ५ – नेकपा एमालेले पार्टी विधानको विषयमा छलफल गर्न आज (सोमबार) केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानको मस्यौदा पेश गरिनेछ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान मस्यौदा समितिका संयोजक तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित विधान मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।
साउन १ गते सचिवालय र २ र ३ गते पोलिटब्युरोको बैठक सम्पन्न भएसँगै केन्द्रीय कमिटी बैठक बोलाइएको हो। आजको बैठकको प्रारम्भमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीति, सरकारको एक वर्षे कामकाज र सचिवालय–पोलिटब्युरो बैठकका निर्णयबारे मन्तव्य दिने कार्यक्रम रहेको गौतमले जानकारी दिए। त्यसपछि महासचिवले पार्टीको सांगठानिक अवस्था प्रस्तुत गर्ने र त्यसपश्चात् विधान सम्बन्धी छलफल सुरु हुने छ।
बैठकमा करिब २३० जना केन्द्रीय सदस्यलाई अधिकतम तीन मिनेटका दरले धारणा राख्ने समय दिने तयारी गरिएको छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले पहिले नै धारणा राखिसकेकाले आजको बैठकमा बोल्ने अवसर केन्द्रीय सदस्यहरूलाई मात्रै दिइने छ।
यसअघि साउन १, २ र ३ गते बसेका शीर्ष समितिहरूको बैठकले पार्टी विधानमा रहेको ७० वर्ष उमेर हद र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको थियो। यी विषयहरू विधान मस्यौदामा समावेश गरेर उपाध्यक्ष पौडेलले प्रस्तुत गर्नेछन्।
पार्टीले केन्द्रीय कमिटीबाट पारित विधानलाई मातहतका कमिटीहरूमा पठाई थप सुझाव लिने र त्यसपछि मात्र महाधिवेशनमा प्रस्तुत गर्ने योजना बनाएको छ। विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने छ।


