बादल र वर्षा
राम आचार्य पुष्प प्रेमी
बुद्ध शान्ती १ झापा
*******”
आजभाेलि म
बादलसँग कैद
भए झैं लाग्छ,
साउनले पनि
पर्खि रहेकाेछ मलाई,
सिर्सिरे वतासले
झिस्क्याउँछ र
गाेधुलीकाे बाटाे तय गर्छ,
मनसुनकाे आगममा
लजाए झै गर्छन् रातहरू।
मैले आशा गरे जस्ताे
शान्त सौम्य नहुन
पनि सक्छ वर्षा,
उसलाई पछ्याई रहेछ
आँधिवेरी र तुफानले,
मेरा खुशीहरू उडाउन सक्छ
उसका रहरहरू भाँच्न सक्छ
तर पनि
मयुरहरू उमङ्गमा
नाच्न थाल्छन्
खुल्ला चौरमा
जंगल किनारमा ,
मयुर नाच्नु भनेकाे
केवल सौन्दर्य मात्र नभई
रजकणहरू स्खलित गर्ने
यौवन मनाेभावकाे
चमत्कारी एउटा रुप हाे,
जवानीका घाेलहरूमा नै
सृष्टि र सृजना अडेकाे हुन्छ,
वर्षा नै सृष्टीकाे सन्देश हाे,
परस्पर भाले र पाेथीकाे
प्रणय मिलनकाे बिम्ब पनि हाे।
सिमसारहरू
जरुवा लिएर मुस्कुराउन
थाल्छन् धरतिमा,
भित्ताहरूमा
पाखा पखेरीहरूमा
खाेला र खाेल्खाहरूमा
गाढ बनेर सामुन्द्रीक
यात्रा तय गर्छन् ,
आफ्नै जीवनशैलीकाे
नवीन चेतनाकाे
द्याेतक बन्ने गर्छ प्रकृति ।।

