कविता
सभ्य हुन सिकौँ
-नारायणबाबु तिम्सिना
को छ यहाँ अमर यो जीवनमा बुझ्दैन कि मानिस,
रहन्नन सदा कोही उहि तवरले भेट्नु छ एक्दिन ईश,
कच्चा भौतिक देह रम्छ सुखमा क्षणभरमै सकिन्छ
बाल्न सके सर्वदा दियो ज्ञानको युगौँयुग बाँच्दछ।
छोटो बुद्धि गरेर मान्छे लोकमा नखरा पारी चमचमी
छैन चैन मनमा गीत बेसुरको गाउँदै नाच्छ छमछमी,
जे जे लाग्छ मनमा त्यसकै वशमा घुम्दैछ वरिपरि ,
पछि चेत खाएर त्यही कर्मले गर्लाकी अहो छट्पटी ।
वाक्क मान्छ स्वदेशी मौलिक ज्ञान संस्कार र संस्कृति ,
भयो ठ्याक्कै बिदेशी विकृति लज्जा हेरौँ लौ जीवनको गति,
अहम् को टाकुरा माथि हुइँकिन्छ वेगले लक्ष्य बिनाको अति,
इज्जत जोगाउनै धौ धौ छ यहाँ सक्यो सबै सम्पत्ति ।
आफ्ना देख्छ पराई उल्लु मनले छुट्यो दिमागको गति,
यन्त्र झैँ ऊ चल्दछ बिना संकोच छैन भावना रत्ती,
फेर्छ मुद्रा क्षणमा बिना कारण साँच्चै खुस्क्यो कि मति,
आफ्ना मात्र नै हुन् ठान्छ लोकका सारा वैभव जति ।
हेप्नेलाई हेपेकै छ तुच्छ ठानी मत्त बन्छ कोठामा ,
फाली सबै मर्यादा अति भावले तान्डव गर्छ चोकमा,
सुन्नै नहुने अहो शब्द कर्कस न सुहाउँने ओठमा ,
मन्त्र नै झैँ जप्दछ लाजै नमानी आनन्दले मठमा।
बुझ्यो बडा बलमा छ कोहि भने निहुरिन्छ खुट्टा छुन,
बेर केही लाग्दैन छेपारै सरि कस्तो सकेको हुन ।
छैन सरल आज सोचेकै जस्तो सबको यो जीवन ,
पुग्दैन सबथोक सोचेकै यहाँ बढ्दै छ अभाव झन,
फाली दुर्गति सब जुटौं लौ रम्न स्वगतिमा फर्कन,
स्वजन पाए साथमा बेइमान पनि खोज्दछ सभ्य हुन।

