अमेरिका भर्सेस बन्द कोठा

-

महेन्द्र चालिसे

अमेरिका भर्सेस बन्द कोठा
(लघुकथा)

गत ५ महिना देखि सुनसान देखिएको छिमेकीको घर आज चहल पहल देखिदैछ। पाँच महिना अघि परिवार भेट्न अमेरिका गएका बुढा बुढी आज घर फर्केर आएछन र ऊनीहरुलाई भेट्न आउनेहरुका कारण छिमेकीका घरमा चहल पहल भएको थियो।

छर छिमेकको चलन अनुसार बिमल छिमेकीको कुसल मंगल सोध्न ऊन्का घरमा जान्छ।
ओहो आमा कहिले फर्कनु भयो अमेरिका बाट? बुढी आमालाई देख्नासाथ बिमल प्रश्न गर्छ

अँ, हिजो आयौं बाबु। अनी बाबु नानी आरामै त हुनुहोला नी। बुढी आमा जबाफ दिनुहुन्छ।

बिमल भन्छ- हामि त आरामै छौं। अनी आमाहरुको अमेरिका यात्रा कस्तो भयो त? धेरै बस्नु भयो, अनी काँ काँ घुम्नु भयो? किनमेल पनि त गर्नु भयोहोला।

आमै खल्लो स्वरमा भन्नुहुन्छ- काँ घुम्न पाउनु नी बाबु त्यो अम्रिका भनेको त अजंगको देश र छ। म त भुतुक्कै भए बा बा। कत्रो बिसाल। तर के गर्नु बाबु, हामि जस्तो लाई, न आफु एक्लै निक्लन सक्नु।
निक्लेर नि क्यार्नु र। हामि बसेको राज्य हो कि के हो भन्थे, त्यता त हाम्रा ठाऊका जस्ता न त ट्याम्पु नत बस नै। सबैका आ-आफ्नै गाडि। ए रातै हिड्ने बाटोपनि छैन अनि बाटोमा हिडेकापनि कोही दैखिदैन। न बोल्न जानिन्छ न बोलेकै बुझिन्छ।

किनमेल? किनमेलको त कुरै नगरौं बाबु। सामान त सस्तै हो नी, त्यहाँको पाँच रुप्पे देखि नै सामान किन्न पाईन्छ तर के गर्नु र, त्याको पाँच रुप्पे भनेको त हाम्रो त पाचशय चालिस हुदो रेछ। एउटा स्विटर र एउटा छालाको ब्याग राम्रो लागेर बुढालाई किन्दिनोस न भन्या त स्विटर त्यहाको एक शय बीस रे अनी ब्याग त त्यहीकै तीनशय पचास रे।
अाम्मामा, दुईथोक गरेर हाम्रो पैसा त झण्डै एकसालीस हजार रे। बुढाले झन्डै नमारेका। हैन हो हाम्रो पैसा र तीन्का पैसामा किन यस्तो भाको बाबु? बिचरी बुढीआमैलाई बिमल कसरी बुझावस त्यो भिन्नता।

अनी घुम्नत घुम्नु भयो होला नी?

यसो अली अली घुमियो नाई। छोरी ज्वाईले बोला र गा को। दुबै काम गर्न जादा रेछन। एउटाको दिउस काम भे अर्कोको बेलुका हुदो रेछ। उनीहरुको फुर्सदमा कहिले काही यसो कतै कतै लगिदिन्थे।

ज्वाईलाई त भन्ने कुरा भएन यसो छोरीलाई तिमेरु घुमाईपनि दिदैनौ भन्यो भने उल्टै उ कराऊछे- के गर्नु त आमा, नेपाल छाडेर आइहालियो, कति रिण गरेर, अब त्यो पनि तिर्नै पर्यो, एऊटाले कमाएर यो ठाउमा दुई जाना पालिन गारो छ। पाएको काम छाडेर तपाईहरुलाई घुमाउन लगौं भने भोली फेरी काम पाईएन भने अर्कै समस्या। नेपाल देखि अमेरिका आइहाल्नु भयो, यही नै घुमाई भैगयो नी।

अनी पा-पाँच महिना कसरी बिताऊनु भयो त तपाईहरुले?
आ बाबु, ज्वाईले हामी गएपछि एऊटा ठूलो टिभि किनि दिनु भयो, अनी हामि बसुन्जेलको लागि भन्नु हुन्थ्यो हिन्दी सिरियल आऊने दुई तीनवटा च्यानल लिदिनुभयो त्यही हेर्यो बस्यो गर्दा गर्दै पाँच महिना त बितायौ त हामिले त।

हो, यो नै बास्तबिकता हो छोरा- छोरीहरुले बोलाएर अमेरिका घुम्न जाने अधिकांस बुढा- बुढीहरुको अवस्था। बोलाउने छोरा छोरीलाईपनि थाहाछ यो समस्या। तर केगर्नु ऊनीहरुपनि बिवस छन बोलाउन। किनकि एक त उनीहरुलाईपनि रहर हुन्छ आफ्ना बाबु आमालाई घुमाउने डुलाऊने। फेरी अर्को कति बाबु आमा खै हामिलाई बोलाऊनु पर्दैन भनेर कराएको कराई गर्छन र यी र यस्ता समस्या हुदा हुदै बोलाउन बाध्य हुन्छन र घुम्न भनेर आउनेहरु आऊछन दुई चार दिन यसो बसेको ठाऊ वरिपरि घुम्छन अनी बन्द कोठामा टिभि हेरेर फर्कन्छन्।

विकल निवास, आरुबारी, काठ्माण्डौं नेपाल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य