– केशव पाठक
मौन केवल बोल्ने क्रियाको कमीमात्र होइन, यो एक गहन अभिव्यक्ति पनि हो । जीवनका अनेक घडीमा शब्दले व्यक्त नहुने भावनाहरू मौनले बयान गर्छ । गहिरो मौनतामा मानिसले आफ्नै भित्र डुब्ने, आत्मसंवाद गर्ने र जीवनका गहिरा सत्यहरू अनुभव गर्ने अवसर पाउँछ । यो मौनता आत्मनिरीक्षणको साधना हो, जसले मानिसलाई बाह्य कोलाहलभन्दा पर आफ्नै अन्तर्मुखी संसारमा लिएर जान्छ ।
सामान्य अर्थमा मौन भनेको बोल्न छाड्नु नै हो । तर गहिरो मौनता भनेको मन, वचन र कर्मले शान्त हुनु हो । यसले मानिसलाई आफू भित्रको आवाज सुन्न मद्दत गर्छ । ध्यान, साधना वा एकान्तको खोजी गर्दा मौनताले नयाँ चेतना जगाउँछ । भनिन्छ, बुद्धले लामो मौनतापछि नै ज्ञान प्राप्त गरेका थिए । त्यसैले, मौन केवल शान्ति होइन, ज्ञानको पनि मार्ग हो ।
मौनता शब्द साधारण लाग्न सक्छ, तर यसको गहिराइमा पुगेपछि जीवनका अनेक रहस्य खुल्न थाल्छन् । मानिसहरू अक्सर मौनतालाई कमजोरी पनि ठान्छन् । वास्तवमा मौनता आत्मचिन्तन, धैर्यता र परिपक्वताको प्रतीक हो । जब कोलाहलले मनलाई छोप्छ, त्यहाँ मौनताको खाँचो बढ्छ अनि मौनता आइपुग्छ ।
त्यसो त मौनताका धेरै प्रकार छन् । केही मौनता पीडाबाट जन्मिन्छ, केही गहिरो प्रेमको अभिव्यक्ति हुन्छन् । कहिलेकाहीँ मौनता एक उत्तर हुन सक्छ, कहिले कुनै नसोधिएको प्रश्न । जीवनका कठिन मोडमा जब शब्दहरू निरर्थक लाग्छन्, त्यतिबेला मौनता नै सबैभन्दा प्रभावकारी संवाद बन्छ ।
प्रकृतिलाई नै हेरौं । आकाश मौन छ, तर यसको शान्तिले मनलाई आनन्द दिन्छ । समुद्र कहिले गर्जिन्छ, तर जब मौन हुन्छ, त्यो मौनता भित्र अनगिन्ती कथा लुकेका हुन्छन् । मानवीय सम्बन्धहरूमा पनि मौनता कहिलेकाहीँ शब्दभन्दा शक्तिशाली बन्छन् । जब दुःख पोख्न शब्दको अभाव हुन्छ, त्यतिबेला मौनताले सबै भन्दा धेरै कुरा बोलिरहेको हुन्छ ।
आधुनिक दुनियाँमा हामी निरन्तर कोलाहलमा बाँचेका छौं । सामाजिक सञ्जाल, समाचार, मान्छे नै मान्छेको भीडभाडले हाम्रो मनलाई दिनरात भरिभराउ बनाइरहेको छ । यति धेरै आवाजहरूका बीच, हामी कहिलेकाहीँ आफैंलाई सुन्न सक्दैनौं । यस्ता बेला आत्मचिन्तनका लागि मौनताको अभ्यास आवश्यक हुन्छ । मौनता आत्म-परिक्षणको अवसर हो, जसले हामीलाई हाम्रो वास्तविक अस्तित्वसम्म पुर्याउँछ ।
गहिरो मौनताले हामीलाई आत्मसाक्षात्कार गराउँछ । जब हामी मौन हुन्छौं, तब मात्र हामी हाम्रो भित्री आवाजसँग संवाद गर्न सक्षम हुन्छौं । मौनताको त्यो एक पल, जहाँ हामी कुनै पूर्वाग्रहबिना, कुनै संकोचबिना आफूलाई सुन्न सक्छौं, त्यही पल जीवनको सबैभन्दा ठूलो उपहार हो ।
त्यसो त मौनता केवल बाहिरी शान्ति मात्र होइन, यो आन्तरिक चेतनाको गहिराइ पनि हो । जब व्यक्ति साँच्चै मौन हुन्छ, उसको आत्मा विशाल ब्रह्माण्डको संगीतसँग एकाकार हुन्छ । मौनता कुनै रिक्तता होइन, बरु त्यो त पूर्णताको अवस्था हो, जहाँ हामी भौतिकताको सिमाबाट माथि उठेर शुद्ध चेतनामा प्रवेश गर्छौं ।
दर्शनशास्त्रहरू भन्छन्, मौनता नै सत्यतर्फको मूल मार्ग हो। शब्दहरूले सीमितता ल्याउँछन्, तर मौनताले
असीमितताको ढोका खोलिदिन्छ । जब बुद्धले निर्वाण प्राप्त गरे, उनले मौन हाँसे । जब सूफी सन्तहरू परम आनन्दमा पुग्छन्, उनीहरू मौन हुन्छन् । किनभने सत्यलाई बयान गर्न सकिँदैन, त्यो केवल अनुभव गर्न सकिन्छ ।
पूर्वीय सभ्यता सधैं मौनताको गहिरो महत्वलाई आत्मसात गर्दै आएको छ । हिन्दू, बौद्ध, तथा जैन दर्शनमा मौनतालाई आत्मबोधको उच्चतम मार्ग मानिन्छ । भगवान बुद्धले मौन ध्यानलाई आत्मसाक्षात्कारको प्रमुख साधन बनाए । उनले “सम्यक मौन” को अभ्यास गर्दै आन्तरिक शान्ति प्राप्त गर्न सिकाए । उपनिषद्हरूमा पनि मौनतालाई परम ब्रह्मसँगको सम्बन्धको एउटा रूप मानिएको छ, जहाँ सत्य शब्दमा होइन, मौन अनुभवमा अनुभूत गर्न सकिन्छ ।
चाणक्यले एक ठाउँमा भनेका छन्, “मौनता नै बुद्धिमानीको पहिलो गुण हो ।” चाणाक्यका अनुसार कुनै पनि व्यक्तिले आफ्नो विचार व्यक्त गर्नुअघि मौनतामा बसेर आत्मविश्लेषण गर्नुपर्छ । यस्तै, लाओत्सेले ताओवादमा मौनतालाई नै आत्मचिन्तन र ब्रह्माण्डसँगको एकताको प्रमुख मार्ग भनेका छन् । उनले भनेका छन्, “मौनता महान शक्ति हो, किनभने यसले सबै उत्तरहरू भित्रै खोज्न मद्दत गर्छ ।”
आजको युगमा मानिस धेरै बोल्छ, धेरै सुन्छ तर आत्मासँग धेरै कम संवाद गर्छ । सामाजिक मिडिया, टेलिभिजन र दैनिक कोलाहलले मानिसलाई बाहिरी दुनियाँमा मात्र व्यस्त राख्छ । यसले आत्मिक शान्तिको अभाव पैदा गर्छ । मौनताले हो यसलाई सन्तुलन गर्न सक्ने । मौन हुँदा मानिसले आफ्ना कमजोरी, भूलहरू र आवश्यकताहरू बुझ्न सक्छ । लेखक, कलाकार वा वैज्ञानिकहरूले मौन अवस्थामा नै महान् आविष्कारहरू गर्छन् । ध्यान र प्रार्थनाको मौनताले चित्तलाई शान्त पार्छ ।
मौनताले धैरैपटक शब्दभन्दा बढी प्रभावकारी अभिव्यक्ति दिन्छ । दुःख, प्रेम वा क्रोधलाई मौनले नै बयान गर्न सक्छ । यस संसारका महापुरुषहरूले मौनताको शक्तिलाई चिन्थे । स्वामी विवेकानन्दले अमेरिकामा आफ्नो प्रसिद्ध भाषण अगाडि मौन धारण गरेर सबैलाई मन्त्रमुग्ध पारिदिएका प्रशंग उल्लेखनीय मानिन्छ । त्यसैले, मौनतामा एक अदृश्य ताकत छ जसले मानिसको व्यक्तित्वलाई नै परिवर्तन गर्छ ।
मौनताभित्र पनि गहिरो मौनता जीवनको अर्को अंग हो । यसले मानिसलाई आफ्नो भित्री आवाज सुन्न, आफूलाई बुझ्न र जीवनको गहिरो अर्थ खोज्न मद्दत गर्छ । बाहिरी दुनियाँको कोलाहलभन्दा टाढा गएर मौनताको अभ्यास गर्नाले जीवनलाई सार्थक बनाउँछ । मौन नै सच्चा साथी हो, जसले कहिल्यै धोखा दिँदैन । त्यसैले, जीवनको यात्रामा केही पल मौनताको आश्रय लिनु पनि आत्मिक शान्तिको मार्ग हो । “मौन भन्ने कुरा मात्र होइन, यो जीवन जिउने विधा हो ।”
हामी सबै लामो समयदेखि बाहिरी कोलाहलमा पुरै निमग्न छौं । सोसल मिडिया, अन्तहीनझैं अनावश्यक चासो र नानाथरीका छटपटीहरूले हामीलाई आफ्नै विचार सुन्ने फुर्सद छैन । मैले एक दिन, एउटा सानो प्रयोग गर्ने सोचेँ २४ घण्टा मौन रहने । पहिलो केही घण्टामै चरम असहज भयो । मुखले केही नबोले पनि मनले धेरै कुरा बोल्न खोज्यो, तर मैले शब्दहरू रोकेँ । बिस्तारै मलाई महसुस भयो मौन केवल बोल्न बन्द गर्नु होइन, आफ्नो भित्रको आवाजलाई राम्ररी सुन्नु पनि हो । त्यो दिन मैले आफूलाई धेरै नजिकबाट चिन्नझैँ लाग्यो—त्यहाँ गहिरो शान्ति थियो । यो अनुभवले मलाई सिकाएको छ, मौनता भनेको खालीपन होइन, एक पूर्णताको अनुभूति हो ।
विज्ञानले पनि मौनतालाई मानिसको मानसिक स्वास्थ्यका लागि उपयोगी मान्छ । मेरो निजी अनुभवमा, जब म धेरै तनावमा हुन्छु, १०–१५ मिनेट मात्र आँखा बन्द गरेर श्वासमा ध्यान दिन्छु । यसले मेरो चित्तलाई एकाग्र बनाउँछ र अनावश्यक चिन्ताहरू हराउँछ । न्यूरोसाइन्स अनुसार, मौनताले मस्तिष्कको सेलहरूलाई पुनर्जीवित गर्छ र नयाँ सृजनात्मक विचारहरू जन्माउँछ । जब म बोल्ने भन्दा धेरै मौन हुन्छु, मेरो सोच्ने क्षमता अझ स्पष्ट हुन्छ ।
कहिलेकाहीँ हामी आफ्ना प्रियजनहरूसँग पनि मौनताको आवश्यकता अनुभव गर्न सक्छौं । मलाई याद छ, एकपटक मेरो साथीले गम्भीर मनोस्थितिमा मलाई भेट्न आउँदा मैले उसलाई कुनै उपदेश दिनुको सट्टा मौन रहेर उसको कथा सुनें । केहीबेरपछि उसले आफै भन्यो, “तिमीले केही नबोलेरै पनि मलाई धेरै सान्त्वना दियौ मित्र ।” कतिपय अबस्थामा मौनभन्दा ठूलो सहानुभूति अरू केही हुन्न ।
मौनताको अभ्यास जीवनको एक सूत्र हो जसले हामीलाई बाह्य विश्वभन्दा पनि आन्तरिक शान्तिको खोजीमा जोड्छ । आज पनि जब म भारी महसुस गर्छु, म एउटा शान्त कुनो खोज्छु र आफ्नो मनलाई मौनताको उपहार दिन्छु । मौनले हामीलाई सिकाउँछ, कहिलेकाहीँ शब्दहरूभन्दा पनि धेरै कुरा हाम्रो चुपचापले बताउँछ ।” किनभने, जो सुकैले बिस्तारै बोल्न सक्छन्, तर मौन हुन सिक्नु जीवनको एउटा कला हो ।” अनि कम बोल्नु र मौन हुनु झन् बिल्कुल फरक कुरा हुन् ।
पूर्वीय परम्परामा मौनतालाई आध्यात्मिक उन्नतिको सबैभन्दा गहिरो साधना मानिएको छ । हिन्दू दर्शनका ऋषिहरूले मौनलाई ‘मौनमेव सत्यम्’ (मौन नै सत्य हो ) भनेका छन् । उपनिषद्का महावाक्यहरू जस्तै ‘तत्त्वमसि’ वा ‘अहं ब्रह्मास्मि’ को गहिरो अर्थ मौनताको अवस्थामा नै अनुभूत हुन्छ । बौद्ध धर्ममा ध्यानको मूल आधार नै मौन हो । बुद्धले आफ्नो ज्ञानप्राप्तिको क्षणमा कुनै उपदेश दिनुभन्दा पहिले ध्यानको मौनतालाई नै प्राथमिकता दिएका थिए । यसले देखाउँछ कि पूर्वीय ऋषि-मुनिहरूले मौनतालाई शब्दभन्दा पनि बढी शक्तिशाली मान्दथे ।
चिनियाँ ताओ दर्शनले ‘वु-वेई’ (अकर्मण्यताको सिद्धान्त) को शिक्षा दिन्छ, जसअनुसार प्रकृतिको गहिरो प्रवाहमा बस्न मौन आवश्यक छ । लाओत्सेको ‘ताओ ते चिङ्ग’ मा भनिएको छ—”जो बोल्दैन, उसले सबै कुरा बताउँछ ।” जैन धर्ममा पनि मौनतालाई ‘केनशो’ (स्वयंको वास्तविक स्वरूप अनुभव गर्ने) को लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । जैन गुरुहरूले शिष्यहरूलाई को-आन (ध्यान गर्दै मौन रहने) को अभ्यास गराउँछन्, किनभने शब्दहरूले सत्यलाई सीमित बनाउँछन्, तर मौनले अनन्ततालाई छुन्छ ।
योग दर्शनमा मौनलाई ‘मौन व्रत’ भनिन्छ, जुन मनको वृत्तिहरू नियन्त्रण गर्ने साधना हो । पतञ्जलिको योगसूत्रमा भनिएजस्तै— “योगश्चित्तवृत्तिनिरोधः” (योग चित्तका वृत्तिहरूको निरोध हो)। मौनले मनलाई बाहिरी विचारहरूबाट टाढा लैजान्छ र आत्मसाक्षात्कारको मार्ग सजिलो बनाउँछ । ध्यान, प्राणायाम र समाधिको अभ्यास गर्दा मौन नै सहज अवस्था हो ।
पूर्वीय दर्शनले मौनलाई ‘शून्य’ (विहीनताको अवस्था) सँग जोड्छ, तर यो शून्यता खाली होइन, सम्पूर्णताको प्रतीक हो । जस्तै बौद्ध दर्शनको ‘शून्यता’ (emptiness) वा हिन्दू अद्वैतको ‘निर्वाण’—यी सबै मौनताको गहिरो अवस्थाहरू हुन् । जब मानिसले आफ्नो मन, वाणी र कर्मलाई शान्त पार्छ, उसले त्यहाँ ब्रह्माण्डको सम्पूर्ण सत्य अनुभव गर्छ । पूर्वीय ऋषिहरूको मतानुसार, मौनता भनेको जीवनको परम सत्यसँग जोडिने सेतो सडक हो । यो धर्म हो, योग हो, र जीवनजस्तै नै रहस्यमय पनि । आज पनि हिमालयका गुफाहरूमा ध्यानमग्न साधकहरू मौनताको बलमा अनन्ततालाई नजिकबाट महसुस गर्छन् । त्यसैले, मौन केवल एउटा अभ्यास होइन, यो सम्पूर्ण पूर्वीय ज्ञानको मूल आधारस्तम्भ हो । मौनताले सत्य कहिल्यै शब्दमा बन्द हुँदैन, यो त हृदयमा बस्छ भनेर सिकाउँछ ।


