काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक दर ६ प्रतिशत, नीतिगत दर ४.५ प्रतिशत र निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरिएको छ।
गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम नीति अवलम्बन गरिएको बताएका छन्।
राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको छ। साथै, मुद्रास्फीति ६.५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिइएको छ।
यो नीति सार्वजनिक भएसँगै अब घरजग्गा खरिद–निर्माणका लागि कर्जा सीमा ३ करोड रुपैयाँ पुर्याइएको छ, जुन अघिल्लो वर्ष २ करोड रुपैयाँ थियो।
नयाँ मौद्रिक नीति मार्फत सावधिक कर्जा पुनः संरचना, विदेशी लगानी प्रोत्साहन र सूक्ष्म वित्त सुधारमा पनि ध्यान दिइने राष्ट्र बैंकले जनाएको छ।

