सुनचाँदी व्यवसायी आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

Categories:

-

काठमाडौँ, २७ असार । सरकारले बिहीबार सुनचाँदी व्यवसायीसँग ६ बुँदे सहमति गरेपछि व्यवसायीहरूले आज (शुक्रबार) बाट पसल खोल्दै नियमित कारोबार सुरु गरेका छन्।

सुन र हिरामा लगाइएको विलासिता कर खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरूले सहमति भएपछि आन्दोलन स्थगन गरेका हुन्। उनीहरूले केही दिनयता पसल नै बन्द गरी विरोध जनाउँदै आएका थिए।

बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सुन तथा सुनका गरगहना ‘विलासिताको परिभाषा’ भित्र राखिने विषयमा अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको हो। यो मुद्दा व्यवसायीहरूको मुख्य चासोको विषय रहँदै आएको थियो।

सहमतिअनुसार अब अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक का प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारीहरू रहने छन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।

कार्यदलले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानुनी तथा नीतिगत व्यवस्था, छिमेकी मुलुकमा लाग्ने राजस्व दरसँग सामञ्जस्य हुने गरी दर कायम गर्ने लगायतका विषयमा सिफारिस गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य