बुढानीलकण्ठ नगरपालिकाको बजेट इतिहासमै उच्च! ३ अर्ब ४५ करोड पारित

-

काठमाडौँ,१३ असार । बुढानीलकण्ठ नगरपालिकाको १६ औं नगरसभा अन्तर्गतको चौथो बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। सभाहलमा मंगलबार बसेको चौथो बैठकले आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित गरेको हो।

यसअघि तेस्रो बैठकमा पेश गरिएका तीनवटै दस्तावेजहरूबारे नगरसभा सदस्यहरूले विस्तृत छलफल गरेका थिए। त्यस क्रममा उठेका सुझाव तथा सल्लाहहरूको समावेश गरी अन्ततः चौथो बैठकबाट बजेट पारित गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा बुढानीलकण्ठ नगरपालिकाले ३ अर्ब २५ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। यसपटकको बजेट २० करोड रुपैयाँले बढेको हो। बजेट वृद्धिसँगै नगरपालिकाले आगामी वर्षका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक पूर्वाधार, वातावरणीय संरक्षण, सूचना प्रविधिको प्रवर्द्धन र युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। डिजिटल सेवा विस्तार, स्मार्ट सिटी अवधारणा, आर्जनमुखी कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, विपद् व्यवस्थापन तथा लैङ्गिक समावेशीता पनि बजेटका मुख्य प्राथमिकता क्षेत्र रहेका छन्।

बैठकमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकमा विपक्षी सदस्यहरूले समेत केही बुँदामा प्रश्न उठाए तापनि अन्ततः सहमतिको आधारमा बजेट पारित गरिएको हो।

बजेट पारित भएसँगै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रशासनिक तयारी सुरु गरिसकेको छ। अब बजेटअनुसारका योजनाहरू पारदर्शी, जवाफदेही र प्रभावकारी ढंगले कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य