काठमाडौं, जेठ १९ — वैदेशिक लगानी प्रवाह बढाउने उद्देश्यसहित ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो फोरम ‘इन्भेष्ट फर इम्प्याक्ट नेपाल (IIN)’ को आयोजनामा नेपाल बैंकर्स एसोसिएसन (NBA) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (NPEA) को सहकार्यमा हुँदैछ।
यसपटकको फोरमलाई तेस्रो संस्करणका रूपमा ‘रिब्रान्ड’ गरेर आयोजना गरिएको हो। यसअघि दोस्रो संस्करणमा १४ वटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (DFI) तथा इम्प्याक्ट इन्भेष्टरहरू सहभागी भएका थिए भने, यसपटक पनि त्यत्तिकै संख्यामा अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।
फोरमले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल आउन र प्रत्यक्षरूपमा अवसरहरूको अवलोकन गर्न सक्ने वातावरण तयार पार्दछ।
कार्यक्रमको पहिलो दिन उच्चस्तरीय प्रविधिक सत्र सञ्चालन हुनेछ, जहाँ जलवायु वित्त, निजी इक्विटी तथा भेञ्चर क्यापिटलको विकास लगायतका विषयमा छलफल हुनेछ। दोस्रो दिन सरकारी निकाय र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्यका लागि रणनीति तय गरिनेछ। तेस्रो दिन सहभागीहरू विभिन्न परियोजना स्थलमा पुगेर प्रत्यक्षरूपमा जानकारी लिनेछन्।
फोरमले नेपाललाई अन्तर्राष्ट्रिय लगानी प्रणालीसँग जोड्न, राष्ट्रिय प्राथमिकतालाई बलियो बनाउन र लगानीकर्ताको विश्वास बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।


