सत्यका पक्षमा उभिन महासचिव पोखरेलको आग्रह, “अराजकता र हिंसाले देश अघि बढ्दैन”

Categories:

-

धनगढी, चैत २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले सत्यलाई समर्थन गर्दै अराजकता र हिंसाका विरुद्धमा उभिनु पर्ने बताएका छन्। शुक्रबार धनगढीमा आयोजित एमाले सुदूरपश्चिम प्रदेश कमिटीको जनसभालाई सम्बोधन गर्दै पोखरेलले समाजको परिवर्तन असन्तुष्टिबाट सम्भव भए पनि निराशाले समाजलाई पछाडि धकेल्ने बताए।

राजसंस्थाको पक्षमा भइरहेका आन्दोलनप्रति कटाक्ष गर्दै उनले पञ्चायती शासन र बहुदलपछिको विकासबीच तुलना गर्न आग्रह गरे। “राजाका पालामा जनताका छोराछोरीले पढ्न पाएका थिएनन्, अहिले आँखा जुधाएर गफ गर्न सक्ने भएका छन्,” उनले भने।

पोखरेलले हालै तीनकुनेमा भएको हिंसात्मक घटनालाई योजनाबद्ध षड्यन्त्रको रूपमा चित्रण गर्दै त्यसका नाइके दुर्गा प्रसाईं रहेको आरोप लगाए। “पूर्वराजाले आन्दोलनको जनकमाण्डर बनाएर पठाएका प्रसाईंलाई अहिले कानुनी कठघरामा ल्याउने प्रक्रिया अघि बढेको छ,” उनले जानकारी दिए।

विगतमा संकटको बेला एमाले–कांग्रेस एकजुट भएको स्मरण गर्दै उनले अहिले पनि गणतन्त्रको रक्षामा यी दुई दलको जिम्मेवारी रहेको बताए। मरिसकेको इतिहास फर्काउने भन्दा समस्याको समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

राजनीतिक अस्थिरता र अराजकताले देशलाई पछाडि धकेल्ने भन्दै पोखरेलले त्यसविरुद्ध जनचेतना फैलाउन आह्वान गरे। “सामाजिक सञ्जालमार्फत समाजलाई अराजक बनाउने प्रयास भइरहेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ,” उनले चेतावनी दिए।

मुलुकमा स्थायित्व आवश्यक रहेको भन्दै उनले एमाले मात्र स्थायित्व दिनसक्ने शक्ति भएको दाबी गरे। आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियानमार्फत एमालेले एकल बहुमत प्राप्त गरेर सरकार बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य