शैक्षिक सहकार्यमा बुढानीलकण्ठ र कर्णालीका पालिकाहरूबीच ऐतिहासिक सम्झौता

Categories:

-

काठमाडौँ, २८ चैत । अन्तरपालिका समन्वय तथा सहकार्य कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरूसँग शैक्षिक सहकार्यको ऐतिहासिक सम्झौता गरेको छ।

शैक्षिक स्तरको उन्नयन, असल अभ्यासको आदानप्रदान तथा आगामी दिनमा एकीकृत साझा शैक्षिक क्यालेण्डर निर्माण गर्ने उद्देश्यसहित यो सम्झौता गरिएको हो। कर्णालीको अति विकट पहाडी तथा हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका तथा जाजरकोट जिल्लाको भेरी नगरपालिका, छेडागाढ नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकासँग बुढानीलकण्ठ नगरपालिकाले सहकार्यको प्रतिबद्धता जनाएको हो।

सम्झौतामा सहभागी सबै पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रशासकीय जनशक्तिको उपस्थितिमा सम्पन्न यस सहकार्य कार्यक्रमलाई सहभागीहरूले महत्वपूर्ण ‘शिक्षामार्फत् समृद्धि र सहअस्तित्व’ को मार्गचित्रको रूपमा व्याख्या गरेका छन्।

सम्झौताअनुसार, पालिकाहरूबीच शैक्षिक क्षेत्रका सफल अभ्यासहरू साझा गरिने, विद्यालय व्यवस्थापन र शिक्षण सिकाइ प्रणालीमा सुधार ल्याइने, तथा शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ।

बुढानीलकण्ठ नगरपालिकाले यो सम्झौताबाट स्वयं पनि महत्वपूर्ण सिकाइ हासिल हुने विश्वास लिएको छ। नगरपालिकाले “समन्वय, सहकार्य र सहअस्तित्व” भन्ने सरकारको तीन खम्बे अवधारणालाई व्यवहारमा उतार्दै समग्र शैक्षिक प्रणालीलाई मजबुत बनाउन यो पहल गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य