एमालेको प्रथम प्रतिनिधि परिषद्को जिल्ला सम्मेलन कपन ह्याण्बल ग्राउण्डमा चैत्र २९ र ३० गते

Categories:

-

काठमाडौं, चैत २७ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रथम प्रतिनिधि परिषद्को जिल्ला सम्मेलन आउँदो चैत्र २९ र ३० गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन  ह्याण्बल ग्राउण्डमा हुने भएको छ। प्रतिनिधि परिषद् गठनपछि पहिलोपटक आयोजना हुन लागेको यो सम्मेलनले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिक योजना तय गर्ने लक्ष्य लिएको छ।

जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले  दिएको जानकारीअनुसार सम्मेलनमा काठमाडौं जिल्लाभरिका प्रतिनिधिहरू, वडा र टोलस्तरीय नेताहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू, युवा र विद्यार्थी नेताहरूको समेत उल्लेख्य सहभागिता रहनेछ। सम्मेलनमा एमालेका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय नेताहरूको पनि उपस्थिति रहने जनाइएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र हुनेछ भने दोस्रो दिन कार्यपत्र प्रस्तुत गरी छलफल र संगठन सुदृढीकरणसम्बन्धी निर्णय लिइने छ। उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि सम्भावित उपस्थिति रहने जनाइएको छ।

सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला कमिटीले जनाएको छ। कार्यक्रमस्थलमा सुरक्षा व्यवस्थासमेत कडा पारिने र सहभागीताको व्यवस्थापनका लागि उपसमितिहरू परिचालन गरिने बताइएको छ।

एमालेले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै संगठनलाई पुनः एकीकृत गर्ने रणनीतिको हिस्सा स्वरूप यस सम्मेलनलाई विशेष महत्व दिएको छ। पछिल्ला दिनहरूमा पार्टीमा देखा परेका आन्तरिक असन्तोष, सांगठनिक चुनौती र आगामी निर्वाचनका सन्दर्भमा नेतृत्वको स्पष्ट मार्गनिर्देशनको अपेक्षासमेत गरिएको छ।

कार्यक्रम सफल पार्न जिल्ला कमिटीले सम्पूर्ण प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन आह्वान गरेको छ भने स्थानीय कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य