काठमाडौं,२२ चैत्र । गृहमन्त्री रमेश लेखकले तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको घटनाबारे संसदीय समितिमा उपस्थित भएर स्पष्टिकरण दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिमा उपस्थित गृहमन्त्री लेखकले उक्त आन्दोलन हिंसात्मक, अमर्यादित र उच्छृङ्खल भएको आरोप लगाए। उनले राजावादीहरूले संविधान उल्ट्याउने षड्यन्त्रपूर्वक आन्दोलनलाई हिंसात्मक बनाएको दाबी गरे।
“संविधान उल्ट्याउने नियतका साथ फागुन ७ गतेको अभिव्यक्ति र २५ गतेको प्रदर्शन गरिएको हो। निजी सम्पत्ति, सरकारी संरचना, मिडिया हाउस, पार्टी कार्यालयमा आक्रमण गरिनु स्वीकार्य छैन। सुरक्षाकर्मीमाथि गाडी चढाउने प्रयाससमेत क्षम्य हुन सक्दैन,” उनले भने।
गृहमन्त्री लेखकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको जानकारी दिए। उनले विचार, अभिव्यक्ति स्वतन्त्रता, प्रचार-प्रसारको अधिकार सुनिश्चित भए पनि हिंसात्मक गतिविधिलाई राज्यले सहन नसक्ने बताए।
यसअघि, सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले तीनकुने घटनाका विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए। सोही अनुसार, समितिले गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो।
बैठकमा गृहमन्त्री लेखकसँगै प्रहरी महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थिति रहेको थियो।


