काठमाडौं,४ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन्।
एमालेका एक नेताका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। ‘विशेष गरी अध्यक्ष ओलीले राजावादीहरूको सक्रियता र हालको राजनीतिक अवस्था विश्लेषण गर्नेछन्,’ ती नेताले भने। साथै, बैठकमा पार्टीको आगामी रणनीति तय गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
फागुन २५ गते काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरूले त्यसको प्रतिवाद गर्दै आएका छन्। माओवादी केन्द्रसहित समाजवादी मोर्चाले राजावादीहरूको प्रदर्शनविरुद्ध सडक आन्दोलन गर्ने तयारी गरिरहेको छ।
सत्तारुढ दलहरूले पूर्वराजाको सक्रियतालाई लिएर आलोचना गरिरहेका बेला एमालेले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। आजको सचिवालय बैठकपछि एमालेको रणनीति स्पष्ट हुने अपेक्षा गरिएको छ।


