काठमाडौं ,२ चैत्र । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलोग’ कार्यक्रममा उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालले नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने बताए।
सभामुख घिमिरेले नेपालले चीनसँगको आर्थिक साझेदारीलाई विस्तार गर्दै लगानी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले भने, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदैछ। यस प्रक्रियालाई सहज बनाउन चीनको सहयोग महत्वपूर्ण रहनेछ।”
नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले बीआरआई नेपालका लागि पूर्वाधार विकास मात्र नभई आर्थिक वृद्धिका नयाँ अवसरहरू सिर्जना गर्ने परियोजना भएको बताए। “नेपालले आफ्नो भौगोलिक अवस्थालाई ट्रान्जिट हबको रूपमा विकास गर्न सक्छ,” उनले भने, “यसका लागि सडक, रेल, ऊर्जा, सूचना प्रविधि र व्यापारिक सहकार्य आवश्यक छ।”
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईलाई नेपालका लागि समृद्धिको अवसरका रूपमा लिनुपर्ने बताए। “केहीले यसलाई चिनियाँ ऋणको पासो भन्ने गरेका छन्, तर यो परियोजना धेरै देशका लागि वरदान सावित भएको छ,” उनले भने।
नेपालका लागि चिनियाँ राजदूत छन सङले चीन नेपालका पूर्वाधार, सूचना प्रविधि र औद्योगिकीकरणको क्षेत्रमा सहकार्य गर्न सकारात्मक रहेको बताए।
डायलोग कार्यक्रमअन्तर्गत नेपालमा बीआरआई कार्यान्वयनका अवसर र चुनौतीबारे नेपाल–चीनका व्यवसायी, प्राध्यापक तथा विज्ञहरूबीच छलफल हुनेछ।

