पत्रकारले समाजलाई अनुभूति गराउने गरी काम गर्नुपर्छ: भानुभक्त ढकाल

Categories:

-

काठमाडौं, फागुन २८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारहरूले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ढकालले पत्रकारहरू सम्मेलन र अधिवेशनका बेला देखिने तर पछि हराउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।

उनी पत्रकारिता समाजका सबै क्षेत्रमा प्रभाव पार्ने शक्ति भएकाले त्यसलाई सही रूपमा उपयोग गर्नुपर्ने धारणा राखे। उनले आन्दोलन साझा अभियान भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए।

चुनाव र सञ्चार क्षेत्रको भूमिका
चुनावमा एक-दुई सिट हार जित ठूलो विषय नहुने बताउँदै उनले निर्वाचन अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए। सञ्चार माध्यमले सकारात्मक विषय उठान गरेमा राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ।

“मुलुकको राजनीति सङ्लो बनाउन सञ्चार क्षेत्रले ठूलो भूमिका खेल्न सक्छ,” उनले भने।

बलियो सरकार  कानुनी सुधार
संसद्को बनावटका आधारमा अहिले बलियो सरकार रहेको उल्लेख गर्दै ढकालले नागरिक हितअनुकूल कानुन बनाउनुपर्ने बताए।

अध्यादेश ल्याउनु संविधानसम्मत नै रहेको बताउँदै उनले यसलाई हाउगुजीको रूपमा नबुझ्न आग्रह गरे। अध्यादेशमा कमजोरी भए छलफलमार्फत सुधार गर्न सकिने उनको धारणा छ।

राजनीतिक स्थायित्व र राजतन्त्रबारे…
समाजमा अस्थिरता र अराजकता मच्चाउने शक्ति सक्रिय रहेको बताउँदै उनले मुलुक पछाडि फर्कन नसक्ने उल्लेख गरे।

“पूर्वराजाले राजनीति गर्न चाहन्छन् भने दल खोलेर आउन सक्नुहुन्छ, तर प्रतिगमन सम्भव छैन,” उनले भने।

ढकालले पत्रकारहरूलाई सत्यतथ्य नागरिक माझ पुर्‍याउने अभियान सञ्चालन गर्न आग्रह गरे। उनले मुलुक धेरै अगाडि बढिसकेको भन्दै अब राजतन्त्र फर्कने सपना देख्न नहुने बताए।

गुणस्तरीय पत्रकारिताको आवश्यकता
कार्यक्रममा ढकालले प्रेस चौतारी नेपाललाई मात्र सङ्ख्या नभई गुणस्तरका आधारमा पनि सशक्त बनाउनुपर्ने बताए। पत्रकारहरूले आफूमाथि अरूको मूल्याङ्कनलाई विश्वास गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य