बागमती प्रदेशमा ८ अर्ब बढी बचत फसे, ७८ सहकारीविरुद्ध उजुरी

Categories:

-

हेटौंडा,फागुन २८ । बागमती प्रदेशका ७८ वटा सहकारी संस्थामा वित्तीय संकट गहिरिँदा बचतकर्ताले ८ अर्ब ७ करोड रुपैयाँभन्दा बढी दाबी गर्दै उजुरी दिएका छन्। प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार ७ हजार ६८२ जना बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि उजुरी दिएका हुन्।

मन्त्रालयका अनुसार ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ भने १३ वटा सहकारीको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा पठाइएको छ। थप ६० वटा सहकारीका उजुरीहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा अनुसन्धानका लागि बुझाइएको छ।

समस्याग्रस्त घोषित पाँच सहकारी सिभिल बचत तथा ऋण, दर्शन बचत तथा ऋण, लालीगुराँस बचत तथा ऋण, नेशनल नमोबुद्ध बचत तथा ऋण, र सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड रहेका छन्। यी सहकारीहरूबाट मात्र ४ अर्ब १ करोड रुपैयाँभन्दा बढी रकम फसेको छ।

सहकारी मन्त्रालयले विभिन्न तहमा कारबाही अघि बढाउँदै ११ वटा सहकारीलाई रकम फिर्ता गर्ने आधार पेश गर्न निर्देशन दिएको छ। ज्येष्ठ बचत तथा ऋण, संकटा बचत तथा ऋण, गतिशील बचत तथा ऋण, शुक्रपथ बहुउद्देश्यीय लगायतका सहकारीहरूलाई रकम फिर्ताको योजना पेश गर्न भनिएको छ।

सहकारी मन्त्रालयले पछिल्लो दुई महिनामा ८ वटा सहकारीलाई प्रहरी कारबाहीका लागि सिफारिस गरेको छ। तीमध्ये नवजीवन बहुउद्देश्यीय, मुकुल बचत तथा ऋण, मञ्जुश्री बचत तथा ऋण, पशुपति बचत तथा ऋण जस्ता सहकारीहरू सम्पर्कविहीन रहेको बताइएको छ।

सहकारी संकटमा परेका पीडितहरू लामो समयदेखि न्यायको खोजीमा छन्। सरकारको ढिलाइका कारण उनीहरूको रकम फिर्ता हुने सम्भावना अन्योलमै देखिएको छ।

 









प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य