धनगढी,२६ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय लगानीबाट नेपालमा राजसंस्था फर्किन असम्भव रहेको टिप्पणी गरेका छन्।
आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कसैले उचालेर कोही उचालिन नपर्ने बताएका छन्। उनको यो प्रतिक्रिया पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर देखाइएको विषयमा आएको हो।
पत्रकारले ‘भारतले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिएको छैन, तर पूर्वराजालाई भारतले नै उचालेको भन्ने चर्चा छ नि?’ भनेर सोधेको प्रश्नमा देउवाले संक्षिप्त जवाफ दिँदै भने, ‘कसैले उचालेर उचालिने कुरै छैन, असम्भव कुरै नगरौँ।’
उनले पूर्वराजा शाहको पछिल्लो गतिविधिलाई न्यून आँक्दै हिजो काठमाडौंमा कुनै उल्लेखनीय घटना नभएको बताए। ‘मैले त कुनै माहोल देखेको छैन, हिजो काठमाडौंमा पनि केही भएको होइन’, देउवाले कटाक्ष गरे।
देउवाको भनाइले नेपालमा पुनः राजसंस्थाको सम्भावनाबारे चलेका अड्कलबाजीलाई थप बहसको विषय बनाएको छ।


