सरकार ढल्ने सपना देख्नेहरूका लागि भानुभक्त ढकालको कडा सन्देश

Categories:

-

काठमाडौं,२४ फागुन  । नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सरकार ढल्ने सपना पूरा नहुने स्पष्ट पारेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म अरूले जति प्रयास गरे पनि सरकार नढल्ने दाबी गरे।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै ढकालले सरकार ढल्छ भन्नेहरूलाई कटाक्ष गर्दै “विग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ” भन्ने भनाइ प्रस्तुत गरे। उनले सरकार अहिले बलियो रहेको बताउँदै सात बुँदे सहमति अनुसार देउवालाई हस्तान्तरण गर्ने बेला र ०८४ को निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने बताए।

सञ्चार क्षेत्रका मुद्दामा छलफलको आश्वासन

ढकालले सञ्चार क्षेत्रका समस्याहरू समाधान गर्न सरकार सकारात्मक रहेको बताए। सञ्चार विधेयकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरिने प्रतिबद्धता जनाउँदै उनले स्वच्छ पत्रकारितालाई प्रवर्द्धन गरिने बताए।

प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा रूपान्तरण आवश्यक रहेको बताउँदै, “पहिला म रूपान्तरण हुन्छु, अनि अरूलाई रूपान्तरण गर्न प्रेरित गर्छु” भन्ने उद्देश्यसहित अघि बढ्नुपर्ने उल्लेख गरे। उनले पत्रकारिताको मर्यादा कायम राख्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको बताए।

जनसंगठनका संरचनामा परिवर्तन

ढकालले जनसंगठनहरूमा नयाँ प्रणाली लागू गरिएको जानकारी गराउँदै, अब संगठनका अध्यक्षहरूलाई प्रमुख अतिथिको रूपमा प्राथमिकता दिने निर्णय भएको बताए। उनले विगतमा कार्यक्रमहरूमा अतिथि वक्ताहरू बढी हुने प्रवृत्तिले अध्यक्षको भूमिका ओझेलमा पर्ने भएकाले सुधार गरिएको उल्लेख गरे।

ढकालले आगामी ०८१ भित्र १६ वटा जनवर्गीय संगठनहरूको अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनले चौतारीले तेस्रो अधिवेशन गर्न लागेको जानकारी दिँदै सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

पत्रकारितामा मर्यादा आवश्यक

उनले नेपाली प्रेस ०६४–०६५ पछि अराजकतातिर गएको हो कि भन्ने चिन्ता व्यक्त गरे। उनले मर्यादित पत्रकारिता आवश्यक रहेको बताउँदै, प्रेस स्वतन्त्रताको नाममा अराजकता स्वीकार्य नहुने धारणा राखे।

कार्यक्रममा एमाले बागमती उपसचिव भक्तकुमारी लामा, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश महासचिव आशिष गुरागाई, प्रेस युनियन, प्रेस सेन्टरका प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य