झापा,१२ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाबाट औपचारिक रूपमा सुरु गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापाको कचनकवलबाट अभियानको शुभारम्भ गरेका हुन्।
माओवादी केन्द्रका अनुसार, संविधानको रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। साथै, प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ।
माओवादी केन्द्रले दलाल, विचौलिया तथा भ्रष्टाचारलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको भण्डाफोर गर्दै, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्ने जनाएको छ। साथै, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न दबाब दिने अभियानको मुख्य एजेन्डा रहेको बताइएको छ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतका नेताहरू सहभागी थिए।
माओवादी केन्द्रले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै स्थानीय तहसम्म पुर्याउने योजना बनाएको छ।


