१० फागुन, काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेतृत्वको निर्णयमाथि उठेको प्रश्नले बैठक तनावग्रस्त बनेको छ। अनेरास्ववियूकी पूर्व अध्यक्ष आरती लामाले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै प्रश्न उठाएपछि अध्यक्ष माधवकुमार नेपाल आक्रोशित भएका छन्।
राजधानीमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन शनिबार लामाले पार्टी नेतृत्वको निर्णयमाथि असन्तोष व्यक्त गरिन्। उनले पार्टी अध्यक्ष माधव नेपाललाई सम्बोधन गर्दै भनिन्, “हिजो एमालेभित्र रहँदा बोल्न पाइएन, विधि प्रक्रिया मिचियो भनेर हामीले विद्रोह गरेका होइनौं? हामीले तपाईंसँग न्यायको अपेक्षा गरेका थियौं, तर आज तपाईंले नै अन्याय गर्नुभयो।”
गत माघ दोस्रो साता अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गर्दै युवा संघ अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियू अध्यक्ष आरती लामालाई पदमुक्त गरेका थिए। सोही विषय उठाउँदै लामाले आफूले संगठनमा दशकौं लगानी गर्दा पनि उचित मूल्यांकन नपाएको गुनासो गरिन्।
तर, लामाको प्रश्न सुनेपछि अध्यक्ष नेपाल आक्रोशित बने। उनले “चुप लाग्नुस्, मसँग प्रश्न गर्ने हो?” भन्दै रोक्न खोजेपछि बैठकस्थल दुई समूहमा बाँडिएको थियो।
एक पक्षले लामाको समर्थन गर्दै नेतृत्वलाई विधिसम्मत निर्णय गर्नुपर्ने धारणा राख्यो भने अर्काे पक्षले अध्यक्ष नेपालको बचाउ गर्दै लामामाथि अनुशासन उल्लंघनको आरोप लगायो।
बैठकमा भएको विवादलाई मत्थर पार्न नेता झलनाथ खनालले सबैलाई शान्त रहन आग्रह गरे। महासचिव घनश्याम भुसालले अध्यक्ष नेपाललाई संयमित रहन सुझाव दिएका थिए।
बैठकमा उत्पन्न असन्तुष्टिका कारण पार्टीको आगामी रणनीति र संगठनात्मक विषयहरू प्रभावित हुने देखिएको छ। बैठक आइतबार पनि जारी रहनेछ।


