काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई निर्धारित समयभन्दा पछि महाधिवेशन गराउने प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन्।
प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कोइरालाले ०८४ को निर्वाचनपछि मात्र महाधिवेशन गर्ने भनाइ गम्भीर विषय भएको बताए। उनले भने, “अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु। बजारमा ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक छ र म त्यसलाई स्वीकार गर्न सक्दिनँ।”
उनले महाधिवेशन तोकिएको समयमा नै गराउन दबाब दिनका लागि आफू निकट नेता तथा कार्यकर्ताहरूलाई सक्रिय हुन निर्देशन दिए। साथै, उनले जिल्लास्तरमा छलफल गर्दै नेतृत्वलाई समयमै महाधिवेशन गर्न बाध्य बनाउनुपर्ने धारणा राखे।
कांग्रेसभित्र महाधिवेशन समयमै गर्ने/नगर्ने विषयले फेरि बहस चुलिएको छ। सभापति देउवा पक्ष महाधिवेशन पछि सार्ने पक्षमा रहेको आरोप लाग्दै आएको छ भने कोइराला पक्ष महाधिवेशन समयमा हुनुपर्ने अडानमा छ।


